Surakshya Rastriya Dainik
आइतबार, ९ अगस्ट २०२६
ट्रेण्डिङ

मुगु, माघ २२।
सोरु गाउँपालिका वडा नं. १० र ११ (धैन) मा अज्ञात रोगका कारण २०० भेडा–बाख्रा मरेको भन्ने समाचार तथ्यहीन र भ्रमपूर्ण रहेको सोरु गाउँपालिका, पशु पन्छी विकास शाखा मुगुले स्पष्ट पारेको छ।
हाल गोरखापत्र अनलाइन, शिलापत्र अनलाइन, कर्णाली मिसन अनलाइन लगायत केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित/प्रसारित उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शाखाले त्यसलाई अपुष्ट, कपोकल्पित तथा मनगढन्ते दाबी गरेको हो।
पशु सेवा शाखाका अनुसार स्थानीय स्तरमा गरिएको प्रारम्भिक जानकारी संकलन तथा पशु स्वास्थ्य अवस्थाको अवलोकन गर्दा केही कृषकका भेडा–बाख्राहरू पौष–माघ महिनाको अत्यधिक चिसोका कारण निमोनिया, खानाको अपच, हेरचाहमा कमी, दुब्लोपन तथा कमजोरीका कारण छिटफुट रूपमा मात्र मृत्यु भएको देखिएको छ। यस्ता घटना विगतका वर्षहरूमा पनि देखिँदै आएको शाखाले जनाएको छ।
यदि भाइरल प्रकृतिको संक्रामक रोग फैलिएको भए २४ देखि ७२ घण्टाभित्र ८०–९० प्रतिशतसम्म भेडा–बाख्रामा उच्च मृत्यु दर देखिन सक्ने भए पनि हालको अवस्थाले त्यस्तो महामारीजन्य संकेत नदेखाएको स्पष्ट गरिएको छ। त्यसैले ‘अज्ञात रोगले २०० भेडा–बाख्रा मरे’ भन्ने दाबी तथ्यसंगत नभएको शाखाको भनाइ छ।
गाउँपालिकाको पशु पन्छी विकास शाखाले नियमित रूपमा सबै वडा तथा बस्तीका कृषकलाई सामान्य उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको र बर्सेनि भेडा–बाख्रासहित अन्य पशुपन्छीमा खोप अभियान सञ्चालन गर्दै आएको जानकारी पनि दिइएको छ।
शाखा प्रमुख पूर्ण बहादुर सेजुवालले सञ्चारमाध्यमलाई समाचार प्रकाशन तथा प्रसारण गर्दा सम्बन्धित निकायबाट यथार्थ पुष्टि गरी दुईतर्फी, खोजमूलक तथा तथ्यपरक ढङ्गले समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्। साथै, आम नागरिकलाई अपुष्ट समाचार नफैलाउन र पशुपालनसम्बन्धी कुनै समस्या देखिएमा गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech