कोहलपुर, बाँके — कोहलपुर नगरपालिका वडा नं. २ मा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको श्री सिद्धेश्वर महादेव मन्दिर प्राङ्गणमा हिन्दू धर्मावलम्बीहरूले परम्परागत रूपमा मनाउँदै आएको महाशिवरात्रि पर्वको अवसरमा विशेष पूजा तथा प्रसाद वितरण कार्यक्रम आयोजना गरिने भएको छ।
हरेक वर्ष श्रद्धा, भक्ति र आस्थाका साथ मनाइने महाशिवरात्रि पर्व यस वर्ष पनि भक्तजनहरूको उल्लेख्य सहभागितासहित भव्य र सभ्य रूपमा सम्पन्न गर्ने उद्देश्यले मन्दिर व्यवस्थापन समितिले विविध धार्मिक कार्यक्रमको तयारी गरेको जनाएको छ। कार्यक्रममा रुद्री पाठ, विशेष अभिषेक, आरती, भजन–कीर्तन तथा भक्तजनहरूका लागि प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ।
कार्यक्रमलाई सफल, व्यवस्थित र धार्मिक गरिमाअनुसार सम्पन्न गर्नका लागि कार्यक्रम संयोजक इन्द्रबहादुर गुरुङको संयोजनमा मन्दिर व्यवस्थापन समिति सक्रिय रूपमा जुटिरहेको छ। समितिले धार्मिक आस्था बोकेका सम्पूर्ण भक्तजन, समाजसेवी, व्यवसायी, संघ–संस्था तथा शुभेच्छुकहरूलाई कार्यक्रमको सफलताका लागि आर्थिक वा जिन्सी सहयोग गरिदिन सादर अनुरोध गरेको छ।
मन्दिर व्यवस्थापन समितिका अनुसार, यस प्रकारका धार्मिक कार्यक्रमले धार्मिक सहिष्णुता, सामाजिक एकता तथा सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। साथै, यसले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
अतः महाशिवरात्रि पर्वको पावन अवसरमा आयोजना हुने उक्त कार्यक्रमलाई सफल बनाउन यहाँको गरिमामय उपस्थिति तथा सहयोगका लागि श्री सिद्धेश्वर महादेव मन्दिर परिवारले हार्दिक निमन्त्रणा तथा अनुरोध गरेको छ।







