काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आसन्न संसदीय चुनाव बहिष्कारका कार्यक्रमलाई थप तीव्र बनाउने क्रममा फागुन ५ गते देशव्यापी नेपाल बन्दको घोषणा गरेको छ ।
पार्टी सचिवालय बैठकपछि जारी गरिएको प्रेस वक्तव्यअनुसार केन्द्रीय समितिको चौथो बैठकले तय गरेका राजनीतिक, संगठनात्मक तथा संघर्षका कार्यक्रम देशभर उत्साहजनक रूपमा अघि बढिरहेको जनाएको छ । छ वटा कम्युनिस्ट पार्टी आबद्ध संयुक्त संघर्ष समितिले तय गरेका कार्यक्रमहरूमा पार्टीको सक्रिय सहभागिता रहेको पनि वक्तव्यमा उल्लेख छ ।
संयुक्त संघर्ष समितिको कार्यक्रमअनुसार पुष २५ गते घोषणा सभा, पुष २८ गते मशाल जुलुस, माघ २१ गते अन्तरक्रिया, माघ २९ गते उपत्यका बन्द तथा माघ ५ गते जिल्लाव्यापी जनप्रदर्शन सम्पन्न भइसकेका छन् । ती कार्यक्रममा जनताको सक्रिय सहयोग र समर्थन प्राप्त भएको भन्दै पार्टीले आम जनसमुदायप्रति आभार व्यक्त गरेको छ ।
यसैबीच, संयुक्त संघर्ष समितिमा आबद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर बुढालाई शान्तिपूर्ण रूपमा चुनाव बहिष्कार कार्यक्रम सञ्चालन गरिरहेका बेला पक्राउ गरिएकोप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ । उक्त कार्यलाई दमनकारी र अलोकतान्त्रिक भन्दै पक्राउ परेका नेता–कार्यकर्ताको अविलम्ब रिहाइको माग गरिएको छ ।
वक्तव्यमा जनजी विद्रोह अपहरण गरिएको आरोप लगाउँदै वर्तमान राजनीतिक व्यवस्था अग्रगमन, राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रणमा असफल भएको दाबी गरिएको छ । पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्वाचनले देशका विद्यमान समस्या समाधान गर्न नसक्ने पार्टीको ठहर रहेको उल्लेख छ ।
नेकपा (बहुमत) ले विकासविहीन चुनाव स्थगित गरी स्वाधीन संयुक्त सरकार गठन तथा जनसंविधान निर्माणका लागि राष्ट्रिय सहमतिको कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ । पार्टीले चुनाव बहिष्कारको कार्यक्रमलाई निरन्तर अगाडि बढाउने निर्णयसमेत सार्वजनिक गरेको छ ।
पार्टीका अनुसार संघर्षको दोस्रो चरण अन्तर्गत माघ २० गतेदेखि फागुन ४ गतेसम्म देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ भने फागुन ५ गते नेपाल बन्द आयोजना गरिनेछ । बन्द सफल पार्न आम जनसमुदाय तथा सम्पूर्ण मित्र शक्तिहरूलाई सहयोग र सहभागिताका लागि आह्वान गरिएको छ ।







