काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुर—को निर्वाचन सेलको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतलाई दिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत बस्नेतलाई सोही कार्यालयद्वारा गठित निर्वाचन सेलको प्रमुखको जिम्मेवारी दिइएको हो ।
उक्त सेलले तीन जिल्लाभित्र रहेका १५ निर्वाचन क्षेत्रका सम्पूर्ण प्रहरी गतिविधिको नियन्त्रण, जनशक्ति परिचालन तथा रेखदेख गर्नेछ । निर्वाचन अवधिभर हुने सुरक्षासम्बन्धी सबै गतिविधि एसएसपी बस्नेतको नेतृत्वमा सञ्चालन हुने जनाइएको छ । साथै उपत्यकाभित्रका निर्वाचन केन्द्रित अन्य गतिविधिमा समेत सुरक्षाको निगरानी उक्त सेलले गर्नेछ ।
यसअघि एसएसपी बस्नेतले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको कमान्ड सम्हालिसकेका छन् ।
हाल काठमाडौं उपत्यकाका तीनै जिल्लाको समग्र कमान्ड भने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले बहन गर्दै आएका छन् ।







