विराटनगर । उर्लाबारीका सनम शाक्य हत्या तथा करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई ३० वर्ष कैद सजाय हुने भएको छ।
उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसला आंशिक रूपमा संशोधन गर्दै गोरेलाई थप १० वर्ष कैद सजाय सुनाएपछि उनको कुल सजाय ३० वर्ष पुगेको हो। यसअघि जिल्ला अदालत मोरङले कर्तव्य ज्यान मुद्दामा गोरेलाई जन्मकैद (२० वर्ष) सजाय सुनाएको थियो। उच्च अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद सजाय हुने ठहर गरेको हो।
उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले माघ २० गतेदेखि नियमित सुनुवाइ गर्दै आइतबार राति अन्तिम फैसला सुनाएको हो।
अदालतले गोरेसहित लाक्पा शेर्पा र भविन राई भनिने भविन तामाङले दायर गरेको पुनरावेदन जिकिर नपुग्ने ठहर गर्दै जिल्ला अदालतको फैसला यथावत् राखेको छ। गोरेको हकमा मात्रै थप १० वर्ष कैद सजाय सुनाइएको हो।
तर, कृष्ण भनिने नरेन्द्र कार्की, मोहन काफ्ले र भोजे मामा भनिने भोजराज भण्डारीको हकमा भने जिल्ला अदालतले सुनाएको जन्मकैद उल्ट्याउँदै उच्च अदालतले १०–१० वर्ष कैद सजाय मात्र कायम गरेको छ। उनीहरू गोरेका नजिकका सहयोगी तथा सवारी चालकसमेत हुन्।
नेपाल सरकारको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा मतियार ठहर भएका मदन सिलवालको हकमा जिल्ला अदालतको फैसला उल्ट्याउँदै ३ वर्ष कैद सजाय सुनाएको छ। संगठित अपराध निवारण ऐन तथा भन्सार चोरी पैठारी–निकासीसम्बन्धी अभियोगमा भने सबै प्रतिवादीको हकमा दाबी नपुग्ने ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरिएको छ।
यो मुद्दामा मूल र पूरक अभियोग गरी ७७ जनालाई प्रतिवादी बनाइएको थियो। पक्राउ परेका र अदालतमा उपस्थित भएका ५६ जनाको हकमा जिल्ला अदालत मोरङले २०७८ असोज १९ गते पहिलो फैसला सुनाएको थियो। बाँकी २१ जना फरार रहेकाले मुद्दा मुल्तबीमा राखिएको थियो। पछि फरार अभियुक्तहरू अदालतमा उपस्थित भएपछि २०८१ पुस २३ गते दोस्रोपटक फैसला भएको थियो।
यो प्रकरण २०७४ माघ ९ गते दुबईबाट काठमाडौं ल्याइएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा बेपत्ता भएपछि सार्वजनिक भएको थियो। उक्त सुन निकाल्न दबाब दिँदै गोरे समूहले सुनका भरिया रहेका सनम शाक्यलाई अपहरण गरेको थियो। २०७४ फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरिएको थियो।
अनुसन्धानका क्रममा गोरेको योजनामा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म दुबईबाट नेपाल हुँदै भारततर्फ करिब ३८ क्वीन्टल सुन तस्करी भएको खुलेको थियो। तर, उक्त सुन हालसम्म बरामद हुन सकेको छैन।
यस प्रकरणमा प्रहरीका केही उच्च अधिकारीसहित दर्जनौँ व्यक्तिहरू मुछिए पनि प्रमाण नपुगेको भन्दै धेरैले सफाइ पाइसकेका छन्।








