२७ माघ २०८२ काठमाडौं ;- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा शान्ति–सुरक्षा सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई विशेष सम्मान प्रदान गरेको छ।


सोमबार आयोजित विशेष कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आईजीपी कार्कीलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गरेका हुन्। कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र निष्ठालाई संस्थागत गर्न नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरिएको थियो।
सम्मान ग्रहणपछि आईजीपी कार्कीले उक्त सम्मानलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपाल प्रहरी संगठनको सामूहिक प्रयासको कदरका रूपमा लिएको बताए। उनले यस सम्मानले नेपाल प्रहरीप्रति जनविश्वास थप मजबुत बनाएको उल्लेख गर्दै निष्ठा, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रेरणा मिलेको धारणा व्यक्त गरे।
उनले प्रहरी संगठनलाई अझ व्यावसायिक, अनुशासित र उत्तरदायी बनाउँदै सुशासन कायम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाए।
कार्यक्रममा अख्तियारका पदाधिकारी, विभिन्न सुरक्षा निकायका उच्च अधिकारी तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





