काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। मंगलबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
‘सुशासन र रोजगारी, समाजवादको तयारी; राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतापत्र करिब १३ हजार शब्दको रहेको छ। प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
पाँच अध्यायमा विभाजित प्रतिबद्धतापत्रको पहिलो अध्यायमा पार्टीको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गरिएको छ। दोस्रो अध्यायमा राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासनबारे उल्लेख गरिएको छ। तेस्रो अध्यायमा समाजवादका आधार निर्माण गर्ने लक्ष्यसहित आर्थिक सुधारको नयाँ चरणबारे विवेचना गरिएको छ।
चौथो अध्यायमा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा कार्यान्वयन गरिने योजनाहरू समेटिएका छन् भने अन्तिम अध्यायमा समानता, समावेशिता, सामाजिक न्याय र सामाजिक सुरक्षाका विषय समावेश गरिएको छ।
नेकपाले प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजना तथा नयाँ महत्त्वपूर्ण पूर्वाधार आयोजनाहरूलाई द्रुत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। साथै, शासकीय स्वरूपमा सुधार गर्दै मन्त्रिपरिषद्को आकार घटाउने, निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने घोषणा गरिएको छ।
आर्थिक क्षेत्रमा आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने र वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। कृषि क्षेत्रको आधुनिकीकरणका लागि ‘कृषि लगानी दशक’ घोषणा गर्ने, भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने तथा स्वास्थ्य र शिक्षामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ।
त्यसैगरी, महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार, दलित समुदायका लागि विशेषाधिकारको व्यवस्था तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषय पनि प्रतिबद्धतापत्रमा समावेश गरिएको छ।







