Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

२८ माघ २०८२ कोहलपुर, बाँके ;– आयोजक प्याब्सन कोहलपुर, एन–प्याब्सन कोहलपुर तथा राप्ति सोनारीको संयुक्त आयोजनामा कोहलपुरमा बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षा क्षेत्रको समसामयिक अवस्था, निजी तथा सामुदायिक विद्यालयबीचको सहकार्य, गुणस्तरीय शिक्षा अभिवृद्धि र नीतिगत सुधारका विषयमा केन्द्रित उक्त कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका विभिन्न राजनीतिक दलका उम्मेदवारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), नेपाली कम्युनिस्ट पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारहरू उपस्थित भई आ–आफ्नो धारणा सार्वजनिक गरेका थिए। शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै दीर्घकालीन नीति निर्माण, शिक्षक व्यवस्थापन, प्रविधिमैत्री शिक्षण पद्धति र ग्रामीण क्षेत्रमा शैक्षिक पहुँच विस्तार गर्ने विषयमा उम्मेदवारहरूले प्रतिबद्धता जनाएका थिए। कार्यक्रमको उद्घाटन सत्रमा आयोजक संस्थाका प्रतिनिधिहरूले निजी विद्यालयले भोगिरहेका चुनौती, नीतिगत अस्पष्टता, कर प्रणाली, शिक्षक तथा कर्मचारी सुरक्षालगायतका मुद्दा प्रस्तुत गरेका थिए। उनीहरूले संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय अभावका कारण शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि राजनीतिक दल र उम्मेदवारहरूको स्पष्ट धारणा आवश्यक रहेको बताएका थिए। नेपाली कांग्रेसका उम्मेदवारले शिक्षा क्षेत्रलाई सामाजिक रूपान्तरणको आधारस्तम्भको रूपमा व्याख्या गर्दै विद्यालय पूर्वाधार विकास, छात्रवृत्ति विस्तार तथा शिक्षक तालिममा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरे। उनले निजी र सामुदायिक विद्यालयबीच सहकार्यको वातावरण निर्माण गर्न कानुनी र नीतिगत सुधार आवश्यक रहेको धारणा राखे। नेकपा एमालेका उम्मेदवारले गुणस्तरीय र प्रविधिमैत्री शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै डिजिटल पूर्वाधार विस्तार, प्राविधिक शिक्षा प्रवर्द्धन तथा रोजगारमुखी पाठ्यक्रम विकासमा जोड दिने बताए। उनले शिक्षामा लगानी वृद्धि नगरी समृद्ध समाजको परिकल्पना सम्भव नहुने धारणा राखे। प्रलोपा प्रतिनिधिले शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र समान पहुँच सुनिश्चित गर्न नीतिगत सुधार अपरिहार्य रहेको बताए। उनले ग्रामीण र विपन्न समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विशेष कार्यक्रम आवश्यक रहेको बताए। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले शिक्षा पूर्णतः सर्वसुलभ र राज्यको दायित्व अन्तर्गत हुनुपर्ने विचार व्यक्त गर्दै निजीकरणको प्रभावबारे समीक्षा गर्नुपर्ने धारणा राखे। उनले श्रम बजारसँग जोडिएको प्राविधिक तथा व्यावसायिक शिक्षामा लगानी बढाउनुपर्ने बताए।राप्रपाका उम्मेदवारले नैतिक शिक्षा, संस्कारयुक्त शिक्षण प्रणाली र राष्ट्रिय पहिचान सुदृढीकरणमा जोड दिँदै परम्परागत मूल्य–मान्यता र आधुनिक शिक्षाको समन्वय आवश्यक रहेको बताए।
अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यालय सञ्चालकहरूले उम्मेदवारहरूसँग करिब ७ वटा प्रत्यक्ष प्रश्नहरु लिखित रुपमा गरेका थिए। उनीहरूले कर संरचना, शिक्षक दरबन्दी, पाठ्यक्रम परिमार्जन, परीक्षा प्रणाली सुधार तथा स्थानीय तहसँगको सहकार्यका विषयमा स्पष्ट धारणा माग गरेका थिए। उम्मेदवारहरूले आफ्ना पार्टीका शिक्षा नीति र आगामी योजनाबारे जानकारी गराएका थिए।कार्यक्रमको समापन गर्दै आयोजक पक्षले शिक्षा क्षेत्रको सुधारका लागि राजनीतिक दलहरूबीच साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै यस्ता अन्तरक्रियाले नीतिगत बहसलाई सकारात्मक दिशा दिने विश्वास व्यक्त गरे। सहभागीहरूले शिक्षा क्षेत्रलाई राजनीतिक प्राथमिकतामा राख्न आग्रह गर्दै कार्यक्रम फलदायी र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका थिए। कोहलपुरमा सम्पन्न उक्त बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रमले आगामी निर्वाचनको सन्दर्भमा शिक्षा क्षेत्रलाई केन्द्रमा राखी नीतिगत बहसलाई थप सशक्त बनाएको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech