०१ फागुन २०८२ कोहलपुर, बाँके ;- मध्यपश्चिम विश्वविद्यालय को आङ्गिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस मा स्नातक तथा स्नातकोत्तर तहका प्रथम सेमेस्टरमा भर्खर भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत तथा ‘वागेश्वरी कप’ खेलकुद सप्ताह अन्तर्गत आयोजित प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
क्याम्पस प्राङ्गणमा आयोजित कार्यक्रममा करिब ५०० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विश्वविद्यालयका ग्रयाजुएट स्कुल अफ हुमानीटिज एन्ड सोसल साइसेसका डिन सहप्रा.डा. आनन्द प्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी क्याम्पस प्रमुख दान बहादुर हमाल, कार्यक्रम उद्घोषक का रूपमा मानविकी संकाय विभागीय प्रमुख डा. खोपीराम ओली, स्ववियु सभापति देबेन्द्र बहादुर बुढा लगायत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै ग्रयाजुएट स्कुल अफ हुमानीटिज एन्ड सोसल साइसेसका डिन सहप्रा.डा. आनन्द प्रसाद सुवेदीले नवप्रवेशी विद्यार्थीहरूलाई विश्वविद्यालय जीवनको नयाँ यात्रामा स्वागत गर्दै अध्ययनसँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा सक्रिय हुन आग्रह गर्नुभयो। उहाँले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने बताउनुभयो।
क्याम्पस प्रमुख हमालले वागेश्वरी क्याम्पसले गुणस्तरीय शिक्षासँगै सह–पाठ्यक्रम गतिविधिलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै नवआगन्तुक विद्यार्थीहरूलाई क्याम्पस परिवारमा हार्दिक स्वागत गर्नुभयो। मानविकी संकाय विभागीय प्रमुख डा. ओलीले विद्यार्थीहरूलाई सकारात्मक सोच, निरन्तर मेहनत र लक्ष्यप्रति प्रतिबद्ध रहन सुझाव दिनुभयो।
स्ववियु सभापति बुढाले विद्यार्थीहरूको हकहित संरक्षण र शैक्षिक वातावरण सुदृढ बनाउन स्ववियु प्रतिबद्ध रहेको बताउँदै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूबीच एकता र सहकार्यको भावना अभिवृद्धि गर्ने धारणा राख्नुभयो।
‘वागेश्वरी कप’ अन्तर्गत विभिन्न खेल विधामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पदक, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रम बिहान १०:०० बजेबाट सुरु भई औपचारिक समापनसँगै सम्पन्न भएको थियो।
आयोजकका अनुसार नवप्रवेशी विद्यार्थीहरूलाई क्याम्पस जीवनमा अभ्यस्त गराउने तथा खेलकुदमार्फत आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।






