०२ फागुन २०८२ बाँके, कोहलपुर ;- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा जुम्ला जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीको प्रमुख एजेन्डा हिन्दुराष्ट्र घोषणा र संघीयता खारेज रहेको बताएका छन्।
शनिबार बाँकेको कोहलपुर नगरपालिका–स्थित बाँके क्षेत्र नं. १ को सम्पर्क कार्यालयमा आयोजित नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै शाहीले संघीय व्यवस्थाका कारण बाँके र बर्दिया जिल्लालाई टुक्र्याइएको दाबी गरे। उनले केही व्यक्तिहरूलाई मुख्यमन्त्री र मन्त्री बनाउने उद्देश्यले प्रदेश विभाजन गरिएको आरोप लगाए।
शाहीले नेकपा एमालेका महासचिव शंकर पोखरेल मुख्यमन्त्री बन्ने र केही व्यक्तिहरू मन्त्री बन्ने स्वार्थका कारण बाँके र बर्दिया अलग प्रदेशमा राखिएको उल्लेख गरे। शाहीले राप्रपा विजयी भएमा बाँके र बर्दिया दुवै जिल्लालाई कर्णाली प्रदेशमा समेट्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप शाह, राप्रपा नगर अध्यक्ष अर्जुन जङ शाहलगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका आगामी रणनीति, संगठन सुदृढीकरण र चुनावी तयारीबारे पनि छलफल गरिएको बताइएको छ।
राप्रपाले देशभर हिन्दुराष्ट्र पुनःस्थापना र संघीयता खारेजको मुद्दालाई प्राथमिकतामा राख्दै चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ।







