काठमाडौं । सूचना प्रविधिको तीव्र विकाससँगै समाजमा उल्लेखनीय परिवर्तन आएको भए पनि त्यसको दुरूपयोगले राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र अपराध अनुसन्धानमा नयाँ चुनौती थपिएको छ। यही परिवेशमा नेपाल प्रहरीले झुटा, भ्रामक तथा गलत सूचनाको नियन्त्रणका लागि कृत्रिम बौद्धिकता (एआई) तथा एडभान्स एनालिटिक सेल गठन गर्ने घोषणा गरेको छ। डिजिटल प्लेटफर्ममार्फत फैलिँदै आएको सूचना आतंकलाई नियन्त्रण गर्न प्रविधिमैत्री संरचना आवश्यक ठान्दै प्रहरीले यो पहल अघि बढाएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अबका अपराधहरू परम्परागत ढाँचाभन्दा फरक र जटिल बन्दै गएकाले अनुसन्धान र नियन्त्रणका उपाय पनि आधुनिक हुनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित ‘अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाल, अनलाइन पोर्टल र विभिन्न डिजिटल माध्यममार्फत अप्रमाणित तथा झुटा समाचार तीव्र गतिमा फैलिरहेको उल्लेख गरे। उनका अनुसार छिटो सूचना दिने प्रतिस्पर्धाका कारण सत्यापनविनै सामग्री सार्वजनिक हुँदा समाजमा भ्रम, आतंक र अविश्वासको वातावरण सिर्जना भइरहेको छ।
कार्कीले प्रारम्भिक चरणमै तथ्य पुष्टि नगरी समाचार सम्प्रेषण गर्दा अनुसन्धान प्रक्रियामा बाधा पुग्ने, प्रमाण नष्ट हुने र दोषी उम्किने जोखिम बढ्ने बताए। उनले यस्ता प्रवृत्तिले शान्ति सुरक्षामाथि प्रत्यक्ष असर पार्ने भन्दै डिजिटल युगका अपराधलाई प्रविधिकै सहायताले नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए।
गठन हुन लागेको एआई तथा एडभान्स एनालिटिक सेलले डिजिटल प्लेटफर्ममा प्रसारित सामग्रीको निगरानी, विश्लेषण र मूल्यांकन गर्नेछ। आधुनिक डाटा एनालिटिक्स, मेसिन लर्निङ, ट्रेन्ड विश्लेषण तथा डिजिटल फरेन्सिक प्रविधिको प्रयोगमार्फत साइबर अपराध, अनलाइन ठगी, फेक आइडी, डीपफेक भिडियो र भ्रामक अडियो जस्ता गतिविधि पहिचान र अनुसन्धान गरिने जनाइएको छ। साथै, राष्ट्रिय सुरक्षा र सार्वजनिक शान्तिमा असर पार्ने सामग्रीमाथि समयमै कानुनी कारबाही अघि बढाइनेछ।
प्रेस स्वतन्त्रताको महत्व स्वीकार्दै कार्कीले स्वतन्त्रता र जिम्मेवारी सँगसँगै जानुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार स्वतन्त्र प्रेस लोकतन्त्रको आधार भए पनि सनसनीपूर्ण, अप्रमाणित वा पूर्वाग्रही सामग्रीले पीडित, अनुसन्धान निकाय र समाज सबैलाई असर पुर्याउन सक्छ। उनले राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर जिम्मेवार पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरे।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले झुटा समाचार नियन्त्रणका लागि प्रहरीको पहल सकारात्मक भएको प्रतिक्रिया दिएका थिए। साथै, आधिकारिक सूचना समयमै उपलब्ध गराउन र सूचना प्रवाह प्रणाली अझ पारदर्शी बनाउन सुझाव दिएका थिए। कतिपयले प्रहरीबाट ढिलो सूचना प्राप्त हुने भएकाले अनधिकृत स्रोतमा निर्भर हुनुपर्ने अवस्था आउने गुनासो गरेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै कार्कीले सूचना प्रणाली सुधार गर्ने प्रतिबद्धता जनाए।
डिजिटल युगसँगै अपराधको स्वरूप जटिल बन्दै गएको भन्दै सुरक्षा विज्ञहरूले पनि प्रविधिको सहारा लिनु अपरिहार्य भएको धारणा व्यक्त गरेका छन्। एआई प्रविधिको प्रयोगसँगै गोपनीयता, अभिव्यक्ति स्वतन्त्रता र कानुनी सीमाबारे बहस बढे पनि प्रहरी प्रमुखले सबै कार्य कानुन र मानव अधिकारको मापदण्डभित्रै सञ्चालन गरिने स्पष्ट पारेका छन्।
एआई तथा एडभान्स एनालिटिक सेल गठनको घोषणासँगै प्रहरी संगठन प्रविधिमैत्री दिशातर्फ अघि बढ्ने संकेत देखिएको छ। विशेषज्ञहरूका अनुसार प्रहरी, सञ्चार माध्यम र नागरिकबीच विश्वास र सहकार्य कायम रह्यो भने झुटा समाचार र सूचना दुरूपयोगविरुद्धको प्रयास प्रभावकारी बन्न सक्छ। अब डिजिटल प्रविधिसहितको प्रहरी संयन्त्रले बदलिँदो अपराध र सूचना आतंकलाई कति प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्छ भन्ने विषय महत्वपूर्ण








