भैरहवा, रुपन्देही — बियरका बोत्तलमा माटो तथा बालुवा भरी र परालका टुक्रा बोरामा प्याक गरेर राजमार्गमा राखिएपछि सोमबार बिहान भैरहवा क्षेत्रमा केही समय त्रास फैलिएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुद्धचोक र अञ्चलपुरस्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडिको सडकमा ती सामग्री राखिएको अवस्थामा भेटिएको हो। बोरामा प्याक गरिएका परालका टुक्रा र माटो भरिएका बियरका बोत्तलसँगै “बाहिर नेपाल बन्द सफल पारौं” लेखिएको कागजसमेत राखिएको थियो।
वैदेशिक हस्तक्षेपको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत ले आह्वान गरेको नेपाल बन्द सफल पार्ने उद्देश्यले बिस्फोटक पदार्थजस्तो देखिने गरी ती वस्तु राखिएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि नेपाली सेना र प्रहरीको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर आवागमन रोकेर जाँच गर्दा ती सामग्रीमा कुनै बिस्फोटक पदार्थ नभएको पुष्टि भएको प्रहरीले जनाएको छ। बोत्तलहरूमा माटो, बालुवा र परालका टुक्रा मात्र भेटिएको थियो।
बुद्धचोक र अञ्चलपुर क्षेत्रमा करिब दुई घण्टासम्म यातायात रोकिँदा बिहान केही समय सर्वसाधारणमा त्रास फैलिएको थियो। पछि स्थिति सामान्य बनेसँगै आवागमन पुनः सञ्चालनमा आएको छ।
यसैबीच, बन्दको आह्वानका कारण रुपन्देही जिल्लामा केही विद्यालय अघोषित रूपमा बन्द भएका छन्। यद्यपि बजार र यातायातका साधन भने पूर्ण रूपमा सञ्चालनमा रहेका छन्।







