काठमाडौं – आम जनता पार्टी (आजपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न सरकारसँग माग गरेको छ।
मंगलबार पार्टीका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति जारी गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालका संयोजकसमेत रहेका प्रसाईँलाई तत्काल रिहा गर्नुपर्ने बताएका हुन्।
विज्ञप्तिमा सरकारमाथि आफ्ना आलोचक तथा फरक धारलाई निरुत्साहित गर्न पटक–पटक गिरफ्तारीको नीति अपनाएको आरोप लगाइएको छ। “सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित गर्ने र पटक–पटक गिरफ्तारी गर्ने केटाकेटी खेल खेल्नु सरकारको मर्यादा र परिपक्वताको विपरीत मात्र नभई विधिको शासन र लोकतन्त्रमाथि प्रहार हो। प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुरुन्त निष्प्रभावी बनाई बिना सर्त रिहा गर्न सरकारसँग माग गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ।
प्रसाईँ सोमबार साँझ भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ।
यसअघि पनि प्रसाईँ पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन्। एक साताअघि मात्रै उनी रिहा भएका थिए। माघ २३ गते काठमाडौँको दक्षिणकाली नगरपालिका–स्थित चाल्नाखेलबाट पक्राउ परेका प्रसाईँलाई दुई दिन हिरासतमा राखेर माघ २५ गते हाजिरी जमानीमा रिहा गरिएको थियो।
त्यतिबेला वीरगञ्जमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदा पक्राउ परेका उनलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पत्राचार गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। अहिले पनि आयोगको पत्राचारकै आधारमा प्रसाईँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।








