काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र काभ्रे जिल्ला सेक्रेटरी विष्णु तिमिल्सिनालाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ।
पार्टीको केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यअनुसार महासचिव बास्तोला र सेक्रेटरी तिमिल्सिनालाई फागुन ५ गते काठमाडौंको बिचपौखरीस्थित टेकबहादुरबाट साँझ करिब ५:४० बजे पक्राउ गरिएको उल्लेख गरिएको छ। सो समयमा उनीहरू संगठनात्मक कामको सिलसिलामा रहेको जनाइएको छ।
वक्तव्यमा देशव्यापी नेपाल बन्द कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको सन्दर्भमा सरकारले “कायरतापूर्ण शैलीमा” गिरफ्तारी गरेको आरोप लगाइएको छ। पार्टीले उक्त कदमको कडा भर्त्सना गर्दै यसलाई लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भनेको छ।
पार्टीले सरकारको कथित निर्वाचन घोषणाले सुशासन, स्थिरता र आत्मनिर्भरतातर्फ जनचाहनालाई सम्बोधन गर्न नसक्ने दाबी गरेको छ। साथै, चुनावको नाममा गरिएको गिरफ्तारीलाई शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि दमन भएको टिप्पणी गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले महासचिवसहित गिरफ्तार गरिएका नेताहरूलाई यथाशीघ्र रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै, देशभक्त, प्रगतिशील, वामपन्थी तथा मानवअधिकारवादी संघ–संस्थाहरूलाई रिहाइको पहल गर्न आग्रह गरिएको छ।
प्रेस वक्तव्य पार्टीका कार्यालय सचिव अविरलद्वारा जारी गरिएको हो।







