काठमाडौं । महाशिवरात्रीका दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठलाई आज नियन्त्रणमा लिइएको हो।
महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा खटिएका एक प्रहरीमाथि मुक्का र लात्ती प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो। प्रारम्भिक चरणमा आक्रमण गर्ने युवकको पहिचान खुल्न नसकेपछि प्रहरीले मंगलबार सूचना जारी गर्दै सर्वसाधारणसँग सहयोगको अपिल गरेको थियो।
नेपाल प्रहरी ले भिडियोबाट खिचिएको तस्बिर सार्वजनिक गरी सूचनाका लागि आग्रह गरेको थियो। प्राप्त सूचनाका आधारमा उक्त युवकलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।







