बाँके । आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बाँके निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी माहोल तातिँदै गएको छ। यसै सन्दर्भमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवारी दिएका जेन्जी पुस्ताका युवा नेता दिपक बुढाथोकी यतिबेला व्यापक घरदैलो अभियानमा सक्रिय देखिएका छन्।


गुलाफको फूल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका बुढाथोकीले क्षेत्रका विभिन्न गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, सुझाव आदान–प्रदान तथा आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरिरहेका छन्। उनी विशेषगरी युवा रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सुदृढीकरण र स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै अघि बढिरहेका छन्।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय युवादेखि जेष्ठ नागरिकसम्मसँग संवाद गर्दै बुढाथोकीले “अब परिवर्तनको नेतृत्व युवाले लिनुपर्ने समय आएको” बताउँदै आएका छन्। मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहेर समस्या सुन्ने र समाधानका प्रतिबद्धता व्यक्त गर्ने शैलीका कारण उनी जनतामाझ लोकप्रिय बन्दै गएको समर्थकहरूको दाबी छ।
चुनावको मिति नजिकिँदै जाँदा बाँके–१ मा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। युवा पुस्ताको सक्रिय सहभागिता र नयाँ नेतृत्वप्रतिको आकर्षणले यस क्षेत्रको चुनावी समीकरणमा नयाँ ऊर्जा थपिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।





