काठमाडौं । नेकपा एमाले निकट नेशनल भोलेन्टियर्स फोर्सले पार्टीको झण्डा जलाइएको घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही नगरे सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।
फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार जारी गरेको वक्तव्यमा पार्टीको झण्डा जलाउने, नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाउने, उत्तेजना फैलाउने तथा द्वेष भड्काउने कार्यमा संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्न प्रशासनसँग माग गरिएको छ। राज्य संयन्त्रले कारबाही नगरे आफूहरू प्रतिवाद गर्न बाध्य हुने चेतावनी वक्तव्यमा उल्लेख छ।
बिहीबार शंकर पोखरेल को गृहनगर दाङको तुलसीपुर क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सोही दिन राति रास्वपा सभापति रवि लामिछाने को स्वागतमा भेला भएका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजीसमेत गरेका थिए।
सुर्खेतबाट तुलसीपुर हुँदै घोराही पुगेका लामिछानेको स्वागत कार्यक्रमकै क्रममा झण्डा दहन गरिएको भिडियो भाइरल बनेपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।
यस विषयमा रास्वपा दाङका सभापति विनय घिमिरेले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले कार्यक्रमको उत्साहजनक उपस्थितिले अत्तालिएकाहरूले घुसपैठ गरी भ्रमपूर्ण वातावरण सिर्जना गरेको दाबी गर्दै झण्डा जलाउने कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।







