काठमाडौं । चार पार्टी आबद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले नेताद्वय धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। समितिको हालै बसेको बैठकले दुवै नेतालाई बिना सर्त रिहा गर्न माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
समितिमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी आबद्ध रहेका छन्।
बैठकले आसन्न निर्वाचन बहिष्कार गर्ने निर्णयसमेत गरेको जनाएको छ। समितिका अनुसार पहिलो चरणको आन्दोलन फागुन ८ देखि १२ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा गाउँ, टोल र वडास्तरमा पर्चा वितरण, घरदैलो कार्यक्रम तथा कोणसभा आयोजना गरिनेछ।
दोस्रो चरणअन्तर्गत फागुन १३ देखि १८ गतेसम्म स्थानीय अनुकूलताअनुसार विभिन्न शहरमा बहिष्कार सभा आयोजना गरिनेछ। यस क्रममा इटहरी, जनकपुर, चितवन, काठमाडौं, बुटवल, दाङ, बर्दिया र धनगढी लगायतका स्थानमा कार्यक्रम गरिने समितिले जनाएको छ।







