बाँके । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा चुनावमा बाँके जिल्लाको सल्यानी जनमत यतिबेला एकै व्यक्तिमाथि केन्द्रित भएको देखिएको छ। विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट उम्मेदवार बनेका २९ वर्षीय युवा नेता दीपक बुढाथोकी जिल्लामा सल्यानी समुदायको एकमात्र प्रतिनिधि उम्मेदवारका रूपमा उदाएका छन्।
युवा उमेरमै केन्द्रीय राजनीतिमा होमिएका बुढाथोकीलाई परिवर्तन र नयाँ पुस्ताको आशाको प्रतीकका रूपमा हेरिएको छ। राजनीतिक वृत्तमा समेत उनको उम्मेदवारीलाई साहसिक कदमका रूपमा व्याख्या गर्न थालिएको छ। विशेषगरी सल्यानी मूलका मतदाताबीच उनीप्रति आकर्षण बढ्दो रहेको स्थानीयहरूको भनाइ छ।
संगठनात्मक अनुभव, कृषि पेशासँगको प्रत्यक्ष सम्बन्ध र युवामै देखिएको नेतृत्व क्षमताका कारण बुढाथोकीले छोटो समयमै आफ्नो प्रभाव विस्तार गर्न सफल भएको समर्थकहरूको दाबी छ। देशले खोजेको युवा नेतृत्व र उत्पादनमुखी सोच बोकेको उम्मेदवारका रूपमा उनको चर्चा गाउँदेखि बजारसम्म फैलिएको बताइन्छ।
आसन्न निर्वाचन नजिकिँदै जाँदा बाँकेमा सल्यानी जनमत कता केन्द्रित हुन्छ भन्ने चासो बढिरहेका बेला दीपक बुढाथोकीको उम्मेदवारीले राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाएको विश्लेषण गरिएको छ।







