काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै देशभरको सुरक्षा अवस्थाको स्थलगत अध्ययन सम्पन्न भएको छ। सातै प्रदेशमा खटिएका अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले आफ्नो विस्तृत प्रतिवेदन प्रहरी मुख्यालयमा बुझाएका छन्।
सरकारले निर्वाचन अवधिमा शान्ति–सुरक्षा सुदृढ बनाउन र सम्भावित जोखिमको पूर्वानुमान गर्न सात जना एआईजीलाई प्रदेशगत रूपमा फिल्डमा खटाएको थियो। उनीहरूले सम्बन्धित प्रदेशका जिल्लाहरूमा पुगेर सुरक्षा अवस्थाको मूल्याङ्कन, संवेदनशील क्षेत्रहरूको पहिचान तथा निर्वाचनका क्रममा आउन सक्ने चुनौतीहरूको विश्लेषण गरेका थिए।
आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्की समक्ष सातै प्रदेशबाट फर्किएका एआईजीहरूले आफ्नो अध्ययन प्रतिवेदन बुझाएका हुन्। प्रदेशगत रूपमा कोसीमा राजन अधिकारी, मधेसमा डम्बर बहादुर बिक, बागमतीमा सिद्धिविक्रम शाह, गण्डकीमा मनोज केसी, लुम्बिनीमा उमाप्रसाद चतुर्वेदी, कर्णालीमा सुशील सिंह राठौर तथा सुदूरपश्चिममा हिमालयकुमार श्रेष्ठ खटिएका थिए। काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापन भने एआईजी ईश्वर कार्कीको कमान्डमा रहने जनाइएको छ।
प्रहरी स्रोतका अनुसार प्रतिवेदनमा प्रत्येक जिल्लाको वर्तमान सुरक्षा अवस्था, सम्भावित संवेदनशील मतदान केन्द्र, विगतका निर्वाचनका क्रममा भएका घटनाको विश्लेषण, आपराधिक गतिविधिको अवस्था तथा राजनीतिक गतिविधिको समग्र मूल्याङ्कन समेटिएको छ। जोखिम देखिएका क्षेत्रमा अतिरिक्त सुरक्षा परिचालन, संयुक्त सुरक्षा गस्ती सञ्चालन, निगरानी प्रणाली सुदृढीकरण तथा आकस्मिक प्रतिकार योजनाको तयारीका विषयमा समेत सुझाव दिइएको छ।
निर्वाचन अवधिभर सम्बन्धित प्रदेशमा सुरक्षा समन्वयको नेतृत्व सम्बन्धित एआईजीहरूले नै गर्ने जनाइएको छ। प्रहरी प्रधान कार्यालयले प्रतिवेदनका आधारमा आवश्यक सुरक्षा रणनीति परिमार्जन र कार्यान्वयन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।







