काठमाडौं। निर्वाचन आयोग नेपालका अनुसार जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान सञ्चालन हुनेछ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो।
यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष) अन्तर्गत १६५ निर्वाचन क्षेत्र र समानुपातिक प्रणालीतर्फ ११० स्थानका लागि मतदान हुँदैछ। प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गरिरहेका छन्। प्रत्यक्ष प्रणालीअन्तर्गत तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्।
समानुपातिक प्रणालीतर्फ भने एक हजार ३६३ पुरुष र एक हजार १,७७२ महिला गरी कुल तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी जम्मा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। साथै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको आयोगले जनाएको छ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १४३ अस्थायी मतदानस्थल पनि तय गरिएका छन्।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ। निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। साथै, निर्वाचन सञ्चालनका लागि दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ।
आयोगले प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पु¥याइसकेको जनाएको छ।
यस निर्वाचनको पर्यवेक्षणका लागि चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था खटिएका छन्।







