ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं:
२०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तुलनामा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षा व्यवस्थापनका दृष्टिले अत्यन्तै शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको देखिएको छ।
समग्र सुरक्षा अवस्थालाई हेर्दा २०७९ को तुलनामा झडपका घटना, मानवीय क्षति तथा मतदान अवरुद्ध हुने अवस्था उल्लेखनीय रूपमा घटेका छन्।
२०७९ को निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच थुप्रै झडपका घटनाहरू भएका थिए। ती घटनाका कारण कतिपय स्थानमा मतदान स्थगित गर्नुपर्ने अवस्थासमेत सिर्जना भएको थियो।
सो क्रममा बाजुरा र कालिकोटमा गरी ४ जनाको मृत्यु भएको थियो भने इलाम, सप्तरी, दोलखा, दाङ, नवलपरासी पश्चिम, हुम्ला, दार्चुला, ललितपुर, तनहुँ, म्याग्दी, खोटाङ र भोजपुरमा गरी २३ जना घाइते भएका थिए।
यस्तै ताप्लेजुङ, इलाम, भोजपुर, उदयपुर, सिरहा, कास्की, नवलपरासी पश्चिम, दाङ, दैलेख, मुगु र दार्चुला लगायतका जिल्लामा विष्फोटक पदार्थ राखेर निर्वाचन प्रक्रिया विथोल्ने प्रयाससमेत भएका थिए। त्यस्तै देशभर करिब ५० स्थानमा झडपका घटनाहरू भएका थिए भने उदयपुर, दोलखा र सिन्धुपाल्चोकमा बुथ कब्जा गरिएको तथा ६२ मतदान स्थलमा निर्वाचन कार्य अवरुद्ध भएको थियो।
तर २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्थापन चुस्त, दुरुस्त र प्रभावकारी बनाइएकाले समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन सफल भएको हो। मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको उपस्थिति व्यवस्थित र सक्रिय बनाइएकाले कुनै पनि स्थानमा ठूलो झडप वा हिंसात्मक घटना हुन पाएन।
मतदानका क्रममा केही स्थानमा सामान्य विवाद उत्पन्न भए पनि सुरक्षाकर्मीले संयमित र प्रभावकारी रूपमा तत्कालै स्थिति नियन्त्रणमा लिएका कारण मतदान प्रक्रिया समयमै सम्पन्न हुन सकेको थियो।
विशेषगरी जेनजी आन्दोलनका क्रममा अप्रत्यासित क्षति बेहोरेपछि नेपाल प्रहरीको मनोबल खस्किएको, हतियार लुटिएका र कारागारबाट कैदी फरार भएका विषयलाई लिएर विभिन्न शंका उत्पन्न भएका थिए। तर प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीले उच्च मनोबल र समर्पणका साथ निर्वाचन सुरक्षामा प्रभावकारी रूपमा परिचालन भएको देखिएको छ।
सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू परिचालन गरी संवेदनशील जिल्लाहरूमा उच्चस्तरीय अनुगमन र सुपरीवेक्षण सुनिश्चित गरिएकोले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएको थियो।
मानवीय क्षतिको दृष्टिले पनि २०७९ को तुलनामा २०८२ को निर्वाचन अत्यन्तै शान्तिपूर्ण देखिएको छ। अघिल्लो निर्वाचनमा मृत्यु र घाइतेका घटनाहरू सार्वजनिक भएका थिए भने हालै सम्पन्न निर्वाचनमा त्यस्ता अप्रिय घटना दोहोरिन पाएनन्।
मतदान स्थगन र पुनः मतदानको सन्दर्भमा पनि यस पटक उल्लेखनीय सुधार देखिएको छ। कतिपय स्थानमा प्राविधिक समस्या वा स्थानीय विवादका कारण अस्थायी अवरोध भए पनि मतदान स्थगित गरी पुनः मतदान गर्नुपर्ने अवस्था सिर्जना भएन र देशभर एकैसाथ निर्वाचन सम्पन्न भएको थियो।
अघिल्ला निर्वाचनका अनुभव, सुरक्षा निकायबीचको प्रभावकारी समन्वय, मतदाता तथा राजनीतिक दलहरूको सचेतना र निर्वाचन व्यवस्थापनमा गरिएको सुधारका कारण २०८२ फागुन २१ गतेको निर्वाचन तुलनात्मक रूपमा इतिहासकै व्यवस्थित र शान्तिपूर्ण निर्वाचनका रूपमा स्थापित भएको विश्लेषण गरिएको छ।
विशेषगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रणनीतिक नेतृत्व तथा नेपाल प्रहरीको अनुशासित र समर्पित परिचालनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
यसले नेपालको लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नेपाल प्रहरीको व्यावसायिकता, प्रतिबद्धता र नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech