कोहलपुर, बाँके – कोहलपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सी, ट्युसन/कोचिङ सेन्टर, म्यानपावर तालिम केन्द्र, आयोग तयारी कक्षा तथा भाषा तयारी कक्षा सञ्चालन गर्ने संस्थाहरूलाई आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ।


नगर कार्यपालिकाको कार्यालय, कोहलपुरले एक सूचना जारी गर्दै अधिकांश कन्सल्टेन्सी तथा तालिम केन्द्रहरू दर्ता नभई सञ्चालनमा रहेको, सञ्चालन अनुमति नलिएको, योग्य प्रशिक्षकको अभाव रहेको तथा अयोग्य प्रशिक्षकका कारण विद्यार्थीहरू मर्कामा परेको गुनासो प्राप्त भएपछि अनुगमनको तयारी गरिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त निर्देशनका आधारमा नगरपालिकाले सम्बन्धित संस्थाहरूबाट आवश्यक कागजात संकलन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।
नगरपालिकाले सम्बन्धित सबै संस्थाहरूलाई तोकिएको समयसीमाभित्र कार्यालय समयमा आवश्यक कागजातहरू सहित दुई प्रति फाइल तयार गरी पेश गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र कागजात पेश नगर्ने संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
नगरपालिकाले पेश गर्नुपर्ने कागजातहरूमा संस्था दर्ता तथा नवीकरण वा सञ्चालन अनुमति पत्रको प्रतिलिपि, सञ्चालकहरूको व्यक्तिगत तथा शैक्षिक प्रमाणपत्र, आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाणपत्र, भवन तथा जग्गाको स्वामित्व वा घर बहालको प्रमाण, प्रशिक्षकहरूको नियुक्ति पत्र तथा शैक्षिक योग्यता तथा संस्थामा सञ्चालन भइरहेका तालिम तथा कक्षाहरूको विवरण समावेश गरिएको जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरिद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित संस्थाहरूलाई समयमै कागजात बुझाउन आग्रह गरिएको छ।





