काठमाडौं । सर्वेन्द्र खनाल सहितका प्रहरी तथा सरकारी अधिकारीमाथि कर्तव्यज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्च अदालत ले परमादेश जारी गरेको छ।
२०७६ असार ५ गते सर्लाही जिल्ला मा भएको कुमार पौडेल ‘इन्काउन्टर’ घटनाको विषयमा अनुसन्धान गर्न अदालतले आदेश दिएको हो।
परमादेश अनुसार तत्कालीन प्रहरी महानिरीक्षक खनाल, मधेस प्रदेशका तत्कालीन डीआईजी हरीबहादुर पाल, सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा हाल निर्वाचन आयोग का सचिव कृष्णबहादुर राउत, सर्लाहीका तत्कालीन एसपी गोपालचन्द्र भट्टराई लगायत प्रहरी अधिकारीमाथि फौजदारी कसुरमा अनुसन्धान गर्नुपर्ने भएको छ।
सर्वोच्च अदालत का न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेल को संयुक्त इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो। आदेशपछि सम्बन्धित व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरी अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्नेछ।
मृतक पौडेलकी आमा दुर्गादेवी पौडेल ले घटनामा संलग्न व्यक्तिविरुद्ध फौजदारी कसुरमा अनुसन्धान गर्न माग गर्दै किटानी जाहेरी दिएकी थिइन्। पीडित परिवारका तर्फबाट अधिवक्ता बद्री भुसाल र इन्द्र अर्याल लगायतले बहस गरेका थिए।









