काठमाडौं — राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीसहित तीन जनाविरुद्ध घुस/रिसवत लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा आरोपपत्र दायर गरिएको छ।
मिति २०८२ चैत १ गते जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, एच.के. इन्टरप्राइजेज प्रा.लि. सम्बन्धी राजस्व चुहावटको छानबिनबाट जोगाउन सहजीकरण गरिदिने भन्दै अधिकारीले घुस लिएको आरोप लागेको हो।


अनुसन्धानका क्रममा एच.के. इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट रु ७० लाख घुस रकम लिएको खुलासा भएको छ। उक्त रकम अधिकारीले विकास चापागाई, देवेन्द्र के.सी. र रविन्द्र लामिछाने लगायतसँगको मिलेमतोमा विभिन्न बैंक खातामार्फत राखी तहिकरण गरी रकमको स्रोत परिवर्तन गर्ने प्रयास गरेको आरोप लगाइएको छ।
घुसबाट प्राप्त रकम ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा जम्मा गरिएको अनुसन्धानबाट खुलेको छ।
त्यसपछि उक्त रकम प्रयोग गरी भक्तपुर जिल्ला, थिमी नगरपालिका (साविक वडा नं. १७, हाल वडा नं. २) स्थित दिव्यश्वरी आयोजनाभित्र रहेको कित्ता नं. ९९८ को करिब १६४.१४ वर्गमिटर क्षेत्रफलको जग्गा खरिद गरिएको तथा देवेन्द्र के.सी. समेत सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीमा समेत प्रयोग गरिएको तथ्य पुष्टि भएको बताइएको छ।
यस घटनामा संलग्नहरूविरुद्ध घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको जनाइएको छ।





