विराटनगर । Citizens Bank International को विराटनगरस्थित कञ्चनबारी शाखामा करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको तथ्य सार्वजनिक भएको छ।
बैंकका कर्मचारीहरूको मिलेमतोमा उक्त रकम अनियमितता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि बैंक प्रशासनले मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरेको छ।


घटनामा संलग्न कर्मचारीविरुद्ध कानुनी कारबाहीका लागि बैंकले जिल्ला प्रहरी कार्यालय मोरङ मा जाहेरीसमेत दिएको जनाएको छ।
प्रहरी अनुसन्धानका अनुसार बैंकका कर्मचारीहरूले सर्वसाधारणले मुद्दति निक्षेपमा राखेको रकमलाई धितो मानी नक्कली कर्जा फाइल खडा गरी रकम निकालेको पाइएको छ।
यस घोटाला प्रकरणमा कञ्चनबारी शाखाकी अपरेसन इन्चार्ज रोजी कणेल सहित चार जना कर्मचारीलाई मुख्य आरोपी बनाइएको छ। कणेलले आफूले एक्लै उक्त कार्य गरेको स्वीकार गरिसकेको बताइएको छ।
हिनामिना भएको रकम फिर्ता गर्ने सर्तमा उनले आफ्नो एक जग्गा बैंकको नाममा हस्तान्तरण गरिसकेको स्रोतले जनाएको छ।
प्रहरीले थप अनुसन्धानका लागि बैंकसँग सबै कर्मचारीहरूको विस्तृत विवरण मागेर प्रक्रिया अघि बढाएको जनाएको छ।





