धनगढी । कैलाली बहुमुखी क्याम्पसको होटल म्यानेजमेन्ट संकायमा अध्ययनरत विद्यार्थी पबिना चौधरीले उत्कृष्ट नतिजा हासिल गर्दै सुदूरपश्चिम विश्वविद्यालयमा प्रथम स्थान हासिल गरेकी छन्।
दोस्रो सेमेस्टरको सत्रान्त परीक्षामा ३.८५ जिपीए ल्याउँदै उनले विश्वविद्यालयमै शीर्ष स्थान हासिल गर्न सफल भएकी हुन्।


उनको यस उल्लेखनीय उपलब्धिलाई क्याम्पसले गौरवको विषयका रूपमा लिएको छ। क्याम्पसको होटल म्यानेजमेन्ट संकायका विभागीय प्रमुख उपप्राध्यापक नरेन्द्र शाहले पबिनाको सफलता अत्यन्त प्रेरणादायी भएको बताए। उनका अनुसार विद्यार्थीहरूको निरन्तर मेहनत, लगनशीलता र समर्पणकै कारण यस्तो उत्कृष्ट नतिजा सम्भव भएको हो।
उनले क्याम्पसका सम्पूर्ण प्राध्यापक र विद्यार्थीहरूको सामूहिक प्रयासले निरन्तर उत्कृष्ट शैक्षिक उपलब्धि हासिल हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरे।
पबिना चौधरीको यो सफलता अन्य विद्यार्थीहरूका लागि समेत प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।





