काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी संगठनलाई अझ अनुशासित, निष्ठावान् र इमानदार बनाउने उद्देश्यसहित कडा निर्देशन दिएका छन्। उनले सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै व्यवहार, बोली र वचनमार्फत नागरिकको अपेक्षा पूरा गर्न आग्रह गरेका छन्।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै आईजीपी कार्कीले संगठनको कार्यशैलीमा थप सुधार आवश्यक रहेको उल्लेख गरे। उनले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै यसले संगठनको छविमा सकारात्मक प्रभाव पारेको बताए।
“प्रहरीको धर्म र कर्म सेवा र सुरक्षा नै हो,” उनले भने, “त्यसैले आफ्नो जिम्मेवारी क्षेत्रको गहिरो अध्ययन गरी योजनाबद्ध सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक छ।”
आईजीपी कार्कीले आपराधिक गतिविधि नियन्त्रणका लागि सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। साथै, सीमानाकामा हुने अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, तथा हातहतियार बरामदजस्ता विषयमा विशेष सुरक्षा योजना लागू गर्न निर्देशन दिएका छन्।
उनले कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन र हिरासत व्यवस्थापनमा विशेष सतर्कता अपनाउन पनि जोड दिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी, प्रहरी नायब महानिरीक्षक सुशीलसिंह राठौर तथा डम्बरबहादुर विकले पनि समसामयिक विषयमा निर्देशन दिएका थिए।
देशभरका प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक तथा राजमार्ग सुरक्षा इकाइहरू लगायत मातहतका निकायका प्रमुख तथा प्रतिनिधिहरू भर्चुअल माध्यममार्फत कार्यक्रममा सहभागी भएका थिए।
यसै अवसरमा आईजीपी कार्कीले हालै काजसरुवा भई नयाँ कार्यक्षेत्रतर्फ जान लागेका डीएसपी तथा इन्स्पेक्टरहरूलाई सफल कार्यकालको शुभकामना दिँदै जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन्।







