नेपालगन्ज । २०६३ चैत २१ गते स्थापित सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले आफ्नो १९औं वार्षिकोत्सव शनिबार विभिन्न कार्यक्रमका बीच भव्य रूपमा मनाएको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानियापुरस्थित गण हेडक्वाटरमा आयोजित समारोहमा गणपति सशस्त्र प्रहरी उपरीक्षक भिम बहादुर चन्दको अध्यक्षतामा सहिद परिवारलाई सम्मान, सांस्कृतिक प्रस्तुति, कदरपत्र, पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको थियो। त्यस्तै परेवा उडाएर शान्तिको सन्देश प्रवाह गरिएको थियो भने केक काटेर उत्सव मनाइएको थियो।


कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुवँरले पानसमा बत्ती बालेर औपचारिक उद्घाटन गरे। नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति समेत रहेका कुवँरले सम्बोधनका क्रममा शान्ति सुरक्षा, सुव्यवस्था, सीमा सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल सधैं उच्च मनोबलका साथ कर्मशील रहने बताए।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद्को बेलामा सशस्त्र प्रहरीले स्थानीय सरकारसँग गरिरहेको सहकार्य र समन्वयको प्रशंसा गर्दै यसले सेवा प्रवाहमा थप प्रभावकारिता ल्याएको बताए।
सशस्त्र प्रहरी निरीक्षक धनराज बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपाली सेना बज्रदल गण बाँकेका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका उप-अनुसन्धान निर्देशक हरिश विष्ट, विभिन्न गणका गणपति, सशस्त्र प्रहरीका अधिकारी, सहिद परिवार तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उल्लेख्य छ, सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरीको २०६३ चैत २१ गते स्थापना भएको हो। यस गण मातहत सीमा सुरक्षा तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न १६ वटा कार्यालय रहेका छन्।






