काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रबिन्दुमा राख्दै उनीहरूको समस्या र गुनासोको उचित सम्बोधन गर्न तथा अपेक्षाअनुसार छिटो, प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले सेवाग्राहीलाई प्रभावमा पार्ने वा प्रलोभन देखाउने बिचौलियाहरूलाई तत्काल कानुनी दायरामा ल्याई बिचौलियारहित, पारदर्शी र कानुनसम्मत सेवा दिन जोड दिए।
उनले प्रत्येक प्रहरी कार्यालयमा ‘नागरिक सहजकर्ता’ व्यवस्था गर्न, सेवासम्बन्धी जानकारी एसएमएसमार्फत दिन र शून्य सहनशीलता नीति अपनाउँदै निष्पक्ष सेवा प्रवाह गर्न निर्देशन दिए।
आईजीपी कार्कीले अपराध अनुसन्धानलाई पारदर्शी र वस्तुनिष्ठ बनाउन, सीमा क्षेत्रमा हुने अपराध, तस्करी र गुण्डागर्दी नियन्त्रण गर्न कडाइ गर्न समेत आग्रह गरे। साथै, प्रहरी कर्मचारीहरूलाई अनुशासित, इमानदार र व्यावसायिक बन्ने, उत्कृष्ट व्यवहार प्रदर्शन गर्ने र जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने निर्देशन दिए।
उनले आपराधिक गतिविधि नियन्त्रणका लागि योजना अनुसार सुरक्षा रणनीति अपनाउन, सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न र जनचेतना बढाउन पनि जोड दिए।
विपद् व्यवस्थापनतर्फ सतर्कता अपनाउँदै पूर्वअभ्यासलाई प्राथमिकता दिन, उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्न र उद्दार कार्यमा प्रभावकारी रूपमा खटिन निर्देशन दिइएको छ।
भीड नियन्त्रणमा विगतका कमजोरी सुधार्दै बल प्रयोगको सिद्धान्तअनुसार तयारी अवस्थामा रहन र सामाजिक सञ्जाल प्रयोग गर्दा पनि उच्च व्यावसायिकता कायम गर्न उनले सबै प्रहरी कर्मचारीलाई आग्रह गरेका छन्।







