काठमाडौं — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दुई कानुन व्यवसायीमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ। आफ्ना क्लाइन्ट पक्राउ परेपछि पक्राउ पूर्जी माग्न पुगेका अधिवक्तामाथि प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लागेको हो।
घटना हिजोको भएको जनाइएको छ। अधिवक्ता वीरेन्द्र दवाडी आफ्ना सहकर्मी सुजन नेपालसँग कार्यालय पुगेका थिए। उनीहरूले दोस्रो तलास्थित सात नम्बर कोठामा पुगेर पक्राउ पूर्जीको प्रतिलिपि वा फोटो खिच्न अनुमति मागेका थिए। तर सो क्रममा प्रहरीसँग विवाद भएको बताइएको छ।
अधिवक्ता दवाडीका अनुसार प्रहरीले “अघि पक्राउ गर्दा तपाईं नै अवरोध गर्ने होइन?” भन्दै केरकार गरेको थियो। उनले अस्वीकार गरे पनि प्रहरीले विश्वास नगरी दुर्व्यवहार गरेको उनको जिकिर छ। उनले आफूलाई हातपात गर्ने प्रयास भएको समेत बताएका छन्।
“मेरो क्लाइन्टलाई पक्राउ गरेर भैरहवा लैजान लागिएको रहेछ। मैले पक्राउ पूर्जीको कपी वा फोटो खिच्न दिनुस् भनेपछि ममाथि अमानवीय व्यवहार भयो,” दवाडीले भने, “प्रहरीले हातपात गर्न खोजेपछि सँगै गएका अधिवक्ताले मलाई बचाएर बाहिर निकाल्नुभयो।”
घटनापछि आफूलाई प्रहरी कार्यालय प्रवेश गर्नसमेत डर लागेको उनले बताएका छन्। उनले आफूविरुद्ध दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग गर्दै प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग र गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन्।
उजुरीमा उनले कानुन व्यवसायीको हैसियतले पक्राउ पूर्जी सम्बन्धी जानकारी लिन पाउने अधिकार आफूलाई रहेको उल्लेख गरेका छन्। तर सो अधिकार प्रयोग गर्न खोज्दा ५–६ जना प्रहरी जम्मा भई अमानवीय व्यवहार गरेको आरोप लगाइएको छ।
यस विषयमा कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भने घटना सामान्य असमझदारीका कारण भएको बताएका छन्। उनले सम्बन्धित कर्मचारीबाट कमजोरी भएको स्वीकार गर्दै माफी मागिएको जानकारी दिए।
“उहाँहरू थुनुवा रहेको कोठामा जानुभएछ। प्रहरीले नचिनेर किन प्रवेश गर्नुभयो भनेर सोध्दा असमझदारी भएको हो,” खड्काले भने, “मैले उहाँहरूलाई बोलाएर कमीकमजोरीप्रति माफी मागिसकेको छु।”
घटनाले कानुन व्यवसायी र प्रहरीबीचको सम्बन्ध तथा कानुनी अधिकारको अभ्यासबारे प्रश्न उठाएको छ।







