काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी विजय हमाल लाई विवादमा तानिएपछि छानबिनका लागि जिम्मेवारीबाट हटाइएको छ। सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा कार्यरत रहेका उनलाई अनुसन्धानका लागि महोत्तरीस्थित छिन्नमस्ता बाहिनीमा तानिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्ट का अनुसार स्थानीयसँग भएको विवाद र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेको विषयमा प्रश्न उठेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।
घटना हुलाकी राजमार्ग आसपासको क्षेत्रमा भन्सार छली गरी ल्याइएको डिजेल नियन्त्रणमा लिने क्रममा भएको बताइएको छ। सो क्रममा प्रहरी र स्थानीयबीच भनाभन हुँदा स्थिति केहीबेर तनावपूर्ण बनेको थियो। सार्वजनिक भिडियोमा डीएसपी हमाल आक्रोशित देखिँदै स्थानीयलाई ‘तस्कर’ भनेर सम्बोधन गरेको सुनिन्छ।
यसप्रति स्थानीयवासीले कडा आपत्ति जनाएका छन्। उनीहरूले प्रहरी स्वयं भारतीय नम्बर प्लेट भएको सवारी प्रयोग गर्दै आएको आरोप लगाउँदै आफूहरूमाथि मात्रै तस्करीको आरोप लगाउनु अन्यायपूर्ण भएको बताएका छन्। भिडियोमा हमाल हेलमेट लगाएर भारतीय नम्बरको मोटरसाइकल चलाउँदै आएको देखिन्छ।

विवादपछि स्थानीयले प्रतिनिधिसभा सदस्य शिवकुमार यादव लाई घटनास्थलमै बोलाएका थिए। उनले घटनाको अवलोकनपछि सबै स्थानीयलाई तस्कर भन्नु कानुनी र नैतिक दुवै हिसाबले गलत भएको प्रतिक्रिया दिएका छन्। साथै, प्रहरी पोशाकमै विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्नुले नागरिकमा त्रास सिर्जना गर्ने भएकाले यसको छानबिन हुनुपर्ने बताएका छन्।
यता, सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापा ले पनि विवादकै कारण डीएसपी हमाललाई मधेश प्रदेश बाहिनी–२, महोत्तरीस्थित मुख्यालयमा तानिएको पुष्टि गरेका छन्।







