काठमाडौँ । सुकुम्बासी बस्तीको विवरण संकलनका विषयमा उठेका प्रश्नबीच नेपाली सेनाले औपचारिक प्रष्टिकरण दिएको छ। सेनाले उक्त पहललाई मनसुनजन्य सम्भावित विपद् व्यवस्थापनको तयारीसँग जोडिएको बताएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिअनुसार बाढी, पहिरो र नदी कटानजस्ता प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै सम्भावित प्रभावित क्षेत्रको जोखिम नक्साङ्कन तथा तथ्यांक अद्यावधिक गर्ने कार्य भइरहेको छ। उद्धार, राहत वितरण तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन यथार्थ विवरण र पूर्वसूचना अत्यावश्यक हुने भएकाले यस्तो कदम चालिएको सेनाले जनाएको छ।


विज्ञप्तिमा भनिएको छ, “विगतका विपद्का अनुभवका आधारमा मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न अग्रिम योजना बनाउने उद्देश्यले सम्बन्धित निकायसँग समन्वय गरी विवरण संकलन गरिएको हो।”
हालै बर्दिया र उदयपुर लगायतका जिल्लामा सुकुम्बासीहरूको विवरण माग गरिएको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र आलोचना भएका थिए। सोही सन्दर्भमा सेनाले स्पष्ट पार्दै यसलाई केवल विपद् व्यवस्थापनको पूर्वतयारीका रूपमा बुझ्न आग्रह गरेको छ।





