Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

नेपालगञ्ज, बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल का चिकित्सकहरू सुरक्षा माग गर्दै आन्दोलनमा उत्रिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन्। यसका कारण ओपीडी लगायत नियमित उपचार सेवा प्रभावित भई बिरामीहरू मर्कामा परेका छन्।
चिकित्सकहरूका अनुसार उपचारका क्रममा मृत्यु भएका बिरामीका आफन्तले ज्यान मार्ने धम्की दिँदै दुर्व्यवहार गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। बैजनाथ गाउँपालिका–६ निवासी ६२ वर्षीया दिलसरा विकको वैशाख १३ गते उपचारका क्रममा मृत्यु भएको थियो। सो घटनापछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक तथा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीमाथि धम्की र दुर्व्यवहार गरेको आरोप छ।
मंगलबार बिहान करिब १०:३० बजे मृतकका आफन्त बताउने २०–२५ जनाको समूह अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी गालीगलौज गर्नुका साथै हातपातको प्रयास गरेको चिकित्सकहरूले बताएका छन्। उक्त समूहले प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे लगायतका चिकित्सकलाई ज्यान मार्ने धम्की दिएको पनि आरोप लगाइएको छ।
अस्पताल प्रशासनका अनुसार हातपातको प्रयास र धम्कीमा संलग्न व्यक्तिहरूमाथि कारबाही नभएसम्म र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सेवा सुचारु गर्न नसकिने अवस्था रहेको छ।
यसअघि सोमबार प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारको सहजीकरणमा चिकित्सक र मृतकका आफन्तबीच सहमति भएको थियो। वार्तामा पीडित पक्षले क्षतिपूर्ति माग गरे पनि चिकित्सकहरूले उपचारमा लापरबाही नभएको दाबी गर्दै क्षतिपूर्ति दिन अस्वीकार गरेका थिए। उनीहरूले छानबिनबाट दोषी ठहर भए कानूनी कारबाही भोग्न तयार रहेको तर बिना कारण क्षतिपूर्ति नदिने अडान लिएका थिए।
सहमति अनुसार मृतकको शव पोस्टमार्टम गरी परिवारलाई बुझाइएको थियो। तर, सहमति पश्चात् पुनः विवाद चर्किँदै आफन्तको समूहले अस्पतालमा आएर दुर्व्यवहार गरेको चिकित्सकहरूको आरोप छ। यसैबीच, बाँके प्रहरीले पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा लिएको छ। बैजनाथस्थित घरबाटै उनलाई पक्राउ गरिएको बाँके प्रहरीका सूचना अधिकारी डिएसपी दीपक पातलीले जानकारी दिएका छन्। उनीमाथि अस्पतालमा अराजकता मच्चाएको आरोप लगाइएको छ।
पत्रकार पक्राउपछि केही बिरामी तथा स्थानीयले चिकित्सकलाई “हामी सुरक्षा दिन्छौं, काममा फर्कनुहोस्” भन्दै आग्रह गरेका छन्। त्यसपछि बन्द रहेका सेवाहरू क्रमशः पुनः सञ्चालनतर्फ उन्मुख भएको खबर प्राप्त भएको छ।
अस्पताल प्रशासनले अस्पताल परिसरमा अनुमति बिना फोटो तथा भिडियो खिच्नसमेत निषेध गरेको जनाएको छ।
पश्चिम नेपालकै प्रमुख संघीय अस्पताल मानिने भेरी अस्पतालमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि पुग्ने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech