काठमाडौं — नेपाल प्रहरी ले कृत्रिम बौद्धिकता (एआई) को दुरुपयोग बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पछिल्लो समय एआई प्रयोग गरी नेपाल प्रहरीको लोगो, भेषभूषा तथा दर्ज्यानी चिन्हहरू तोडमोड गरेर भ्रामक सामग्री तयार पार्ने र सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने क्रम बढेको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार यस्ता सामग्रीले समाजमा भ्रम र अफवाह फैलाउने सम्भावना उच्च हुने भएकाले सबैलाई सचेत रहन आग्रह गरिएको छ। नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘सुरक्षाजस्तो संवेदनशील विषयमा आम नागरिकलाई सुसूचित गराउनु साझा जिम्मेवारी भए पनि एआईको दुरुपयोग गरेर संस्थाका प्रतीक चिह्न तथा पोसाकसम्बन्धी गम्भीर विषयलाई तोडमोड गरी प्रकाशित तथा प्रसारित हुने सामग्रीले समाजमा भ्रम सिर्जना गर्न सक्छ’ भन्दै कन्टेन्ट क्रिएटरहरूलाई सजग रहन अनुरोध गरेको छ।


प्रहरीले यस्ता सामग्री निर्माण गर्नेहरूलाई तथ्य, विश्वसनीयता र जिम्मेवारीमा विशेष ध्यान दिन आग्रह गर्दै सुरक्षा निकायका लोगो, पोशाक तथा दर्ज्यानी चिन्हहरूको प्रयोग गर्दा आधिकारिक मापदण्ड पालना गर्नुपर्ने स्पष्ट पारेको छ।
साथै, भ्रामक तथा तोडमोड गरिएका सामग्री उत्पादन र प्रसारण गरिए प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी समेत नेपाल प्रहरी ले दिएको छ।






