

विराटनगर, मोरङ । विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका दुई जना यात्रु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार, बैशाख १८ गते बेलुका करिब ८:०० बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका सुनसरी धरान उपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय दिलीप तामाङलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो। उनको साथबाट ११ लाख रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी, बैशाख १९ गते दिउँसो करिब ३:३५ बजे श्रीएयरको उडानमार्फत काठमाडौं जान लागेका भारतको माल्दा जिल्लाका ३६ वर्षीय मोहिदुल अलीलाई पनि चेकजाँचका क्रममा पक्राउ गरिएको हो। उनको साथबाट १५ लाख ८८ हजार रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, दुवै जनाबाट बरामद गरिएको कुल रकम २६ लाख ८८ हजार रुपैयाँ रहेको छ, जसको स्रोत खुल्न नसकेको बताइएको छ। उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, मोरङमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रहरी नायब उपरीक्षक कोपिला चुडालले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।





