नेपालगञ्ज, बाँके । बाँकेको कोहलपुर क्षेत्रबाट अपराधिक लाभ लिन नहुने कसुरमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति र समयमा विभिन्न मुद्दामा अनुसन्धान प्रक्रियामा रहेका प्रतिवादीका परिवारसँग “मुद्दा मिलाइदिने” भन्दै रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा कोहलपुर नगरपालिका–११ चप्परगौडी निवासी ४० वर्षीय काशीराम थारुलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिहरूसँग मुद्दा मिलाइदिने बहानामा गैरकानुनी रूपमा पैसा लिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका थारुलाई मिति २०८३ जेठ १९ गते नियन्त्रणमा लिई अपराधिक लाभ लिन नहुने कसुरमा बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा कसैले यस्ता कार्य गरेमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।







