नेपालगञ्ज, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार वैशाख २१ गते साँझ भएको घटनापछि द्रुत अनुसन्धान र खोजी अभियान सञ्चालन गरी आरोपितहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा आयोजित व्रतबन्ध कार्यक्रममा सहभागी हुन आएका युवाहरूबीच सामान्य विवाद उत्पन्न भई पछि हिंसात्मक झगडामा परिणत भएको थियो। विवादपछि दिपेन्द्र राज गिरीले आफ्ना साथीहरूलाई कैलालीबाट बोलाई बिहान करिब ५ बजे नेपालगञ्ज आइपुगेपछि समूहले सँगै आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ।
उक्त समूहले सुतिरहेको अवस्थामा विशाल चन्द ठकुरीमाथि बियरका बोतल र धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको प्रहरीको भनाइ छ। ज्यान जोगाउन भाग्ने क्रममा उनलाई करिब १०० मिटरसम्म लखेटी पुनः आक्रमण गर्दा गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा मृत्यु भएको हो।
घटनामा जुम्लाका योगेन्द्र कामी घाइते भएका थिए भने उपचारपछि उनी डिस्चार्ज भएका छन्।
प्रहरीले घटनामा संलग्नमध्ये ४ जनालाई बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अमेनी नजिकबाट र २ जनालाई नेपालगञ्जबाट पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा दिपेन्द्र राज गिरीसहित बिवश कुँवर, सुशिल खत्री, खगेन्द्र देवकोटा, सन्तोष संज्याल र रेशा थापा रहेका छन्।
प्रहरीले घटनास्थलबाट चक्कु, NS 200 मोटरसाइकल तथा बियरका बोतल र फुटेका टुक्राहरू बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ र संलग्नमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।








