Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङ ले वैशाख ९ गते पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले सम्हालिरहेका छन् । गृहमन्त्री पद रिक्त रहँदा नेपाल प्रहरीभित्र लामो समयदेखि रोकिएको सरुवा प्रक्रिया अन्योलमा परेको छ ।
प्रहरी नियमावली २०७१ अनुसार प्रहरी अधिकृतहरूको सरुवा सामान्यतया प्रत्येक एक वर्षमा हुने व्यवस्था भए पनि यसपटक प्रहरी निरीक्षकदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) तहसम्मका अधिकृतहरूको सरुवा प्रभावित बनेको हो ।
गत वर्ष वैशाख १० गते ३११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको थियो । तीमध्ये कार्यअवधि पूरा गरेका २४ जनालाई मात्रै चैत २ गते काज सरुवा गरिएको छ भने बाँकी अधिकृतहरू यथास्थानमै कार्यरत छन् ।
त्यस्तै, गत वैशाखमा सरुवा भएका १२१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को अवधि सकिए पनि नयाँ जिम्मेवारी तोकिएको छैन । धेरै डीएसपी तथा इन्स्पेक्टरहरू पुरानै कार्यालयमा इन्चार्जको रूपमा कार्यरत छन् ।
जिल्ला कमाण्ड सम्हालिरहेका एक वर्षे अवधि पूरा गरेका प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा पनि रोकिएको छ । बाग्लुङ, सिन्धुली, काभ्रे, सर्लाही, महोत्तरी, सुर्खेत, चितवन, पश्चिम नवलपरासी, कपिलवस्तु र कञ्चनपुर लगायत जिल्लामा कार्यरत एसपीहरूको कार्यकाल पूरा भइसकेको छ ।
प्रहरी प्रधान कार्यालयले एसएसपी तथा केही प्रदेश डीआईजीहरूको समेत फेरबदल गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ । प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्ले ले अवधि पुगेका अधिकृतहरूको सरुवा प्रक्रिया चलिरहेको र आवश्यक निर्णय क्रमिक रूपमा हुने बताएका छन् ।
प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवा निर्णय प्रहरी महानिरीक्षक (आईजीपी) ले गर्न सक्ने भए पनि एसएसपी र डीआईजी तहको सरुवा भने गृहमन्त्रीस्तरबाट अनुमोदन हुनुपर्ने व्यवस्था छ । गृह मन्त्रालयमा राजनीतिक नेतृत्व रिक्त हुँदा प्रक्रिया ढिलो भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
काठमाडौँ प्रहरी नेतृत्वमा कसको बाजी ?
जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व परिवर्तनको चर्चा पनि तीव्र बनेको छ । हाल परिसरको नेतृत्व एसएसपी रमेश थापा ले सम्हालिरहेका छन् ।
काठमाडौं कमाण्डका लागि एसएसपीहरू दयानिधी ज्ञवाली, अजय केसी, सुरेश काफ्ले, वीरबहादुर बुढा र सुवास बोहरा बीच प्रतिस्पर्धा देखिएको छ ।
त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी को कार्यकाल करिब पूरा हुन लागेकाले त्यहाँ पनि नेतृत्व परिवर्तनको चर्चा सुरु भएको छ ।
उपत्यका ट्राफिकको कमाण्ड सम्हाल्न एसएसपी दिलिप घिमिरे, शृषिराम कडेल र भुवनेश्वर तिवारी मध्ये एक जनाको सम्भावना बलियो रहेको प्रहरी वृत्तमा चर्चा छ ।
सरुवा ढिलाइले कार्यसम्पादनमा असर पर्ने चिन्ता
नेपाल प्रहरीभित्र नियमित सरुवा प्रक्रिया लामो समयसम्म रोकिँदा संगठनको कार्यसम्पादनमै असर पर्न सक्ने चिन्ता बढेको छ । प्रहरी अधिकृतहरूका अनुसार एउटै स्थानमा लामो समय बस्नुपर्दा काम गर्ने उत्साह घट्ने, निर्णय प्रक्रियामा दबाब बढ्ने तथा कमाण्ड प्रणाली प्रभावित हुने अवस्था सिर्जना हुन सक्छ ।
विशेषगरी जिल्ला तथा युनिट इन्चार्जहरूको समयमै फेरबदल नहुँदा प्रशासनिक गतिशीलता कमजोर बन्ने र संगठनभित्र असन्तुष्टि बढ्ने अवस्था देखिएको प्रहरी स्रोतको भनाइ छ ।
गृह मन्त्रालयमा नयाँ नेतृत्व नियुक्त नभएसम्म नेपाल प्रहरीभित्रको सरुवा प्रक्रिया अझै केही समय लम्बिन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech