धनगढी । भारतको दिल्लीमा भएको ठूलो चोरी प्रकरणसँग सम्बन्धित करिब दुई करोडभन्दा बढी मूल्यका गरगहना, नगद तथा बहुमूल्य सामग्री नेपाल प्रहरीले बरामद गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले लामो अनुसन्धानपछि चोरीमा संलग्न समूहलाई पक्राउ गर्दै चोरी भएको धनमाल फेला पारेको हो।
प्रहरीका अनुसार दिल्लीको राजेन्द्रनगरस्थित भारतीय नागरिक संजयकुमार माखीजाको घरमा फागुन १३ गते ठूलो चोरी भएको थियो। घटनामा घरमै काम गर्ने बाजुराका उपेन्द्र रावतको समूह संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ। भारतीय प्रहरीमार्फत प्राप्त सूचनाका आधारमा नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले उपेन्द्र रावतसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाजुराका लोकेश धामी तथा चोरी भएको धनमाल खरिद गरेको आरोपमा अछामका अर्जुन सुनार रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाका अनुसार पक्राउ परेकाहरूको साथबाट सुनचाँदीका गरगहना, हिरा, मोती, विभिन्न देशका मुद्रा तथा नगदसहित करिब २ करोड ७ लाख रुपैयाँ बराबरको सामग्री बरामद गरिएको छ।
बरामद सामग्रीमा नेपाली रुपैयाँ, १२ वटा महँगा घडी, ४३ लाखभन्दा बढी मूल्यका सुनका गरगहना, हिरा तथा सुनका रिङ, चाँदीका गहना र अन्य बहुमूल्य वस्तुहरू रहेका छन्।
प्रहरीले बरामद गरिएका केही रकम तथा सामग्री सम्बन्धित भारतीय नागरिक संजयकुमार माखीजालाई भारतीय दूतावासमार्फत फिर्ता गरिएको जनाएको छ। शुक्रबार कैलालीमा पीडित पक्ष, जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा सामान हस्तान्तरण गरिएको थियो।
पक्राउ परेका व्यक्तिहरूले चोरीका केही सामग्री अन्य व्यक्तिहरूले लगेको दाबी गरेका छन्। ती व्यक्तिहरू हाल फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।







