काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि सम्पर्कविहीन रहेका ११ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। कार्यालयले आज सूचना जारी गर्दै चैत महिनादेखि आफूखुशी गैरहाजिर रहेका कर्मचारीहरूलाई स्पष्टीकरणसहित हाजिर हुन भनेको हो।
सूचनाअनुसार गैरहाजिर हुनेमा प्रहरी सहायक हवलदार राम सकल रावत, ओमबहादुर चौधरी थारू र नरजंग वली रहेका छन्। त्यसैगरी प्रहरी जवान पुनम चन्द, हरी भुल, केशर कुँवर, सन्दीप कार्की, नवीन कोइराला, राहुलकुमार साह, राजकुमार गुरुङ तथा प्रहरी कार्यालय सहयोगी विशाल कुँवर पनि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार ती कर्मचारीहरू गत चैत महिनाका विभिन्न मितिदेखि बिना जानकारी अनुपस्थित छन्। खोजतलास तथा नियमानुसार सूचना टाँस गर्ने प्रक्रिया पूरा हुँदासमेत उनीहरू सम्पर्कमा नआएको उल्लेख गरिएको छ।
प्रहरी प्रधान कार्यालयले प्रकाशित सूचनामार्फत बाटोको म्यादबाहेक सात दिनभित्र उपस्थित भई आफ्नो स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।







