नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ महिनाभर जिल्लामा भएका सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानसम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार जेठ महिनामा जिल्लाभर १५९ वटा मुद्दा दर्ता भएका छन् भने विभिन्न अपराधमा संलग्न १४९ जना प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार सार्वजनिक चासोका ९१ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत ७७ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १४ वर्ष १ महिना ३ दिन कैद सजाय तथा १ करोड ५९ लाख २३ हजार २७४ रुपैयाँ बिगो र क्षतिपूर्ति असुल गरिएको प्रहरीले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ९७ उजुरीमध्ये ९० वटा फर्छ्योट भइसकेका छन् भने ७ वटा उजुरी प्रक्रियामै रहेका छन्। यस अवधिमा ३७ महिला, २९ बालिका, १३ बालक र ६ पुरुष हराएको विवरण दर्ता भएकोमा अधिकांशलाई फेला पारिएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ३५ वटा मुद्दा दर्ता गरी ५६ जनालाई पक्राउ गरिएको छ। यस क्रममा ६ किलो ६२० ग्राम अफिम, २ किलोभन्दा बढी गाँजा, ब्राउन सुगर, ट्रामाडोल, नाइट्राजेपामलगायत विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ।
प्रहरी तथ्यांकअनुसार जेठ महिनामा आत्महत्याका १० घटना दर्ता भएका छन्। मृतकमध्ये ५ पुरुष र ५ महिला रहेका छन्।
सवारी दुर्घटनातर्फ जेठ महिनामा १९ वटा दुर्घटना भएका छन्। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। तीव्र गति दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको निष्कर्ष छ।
भन्सार छली नियन्त्रण अभियानअन्तर्गत ५५ लाख ९ हजार २४० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। यस क्रममा ४ जना पक्राउ परेका छन् भने १५ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा ३१ वटा सवारी साधन नियन्त्रणमा लिएर १ लाख ८७ हजार रुपैयाँ जरिवाना गरिएको छ।
यस्तै, अवैध पशुपंक्षी ओसारपसार नियन्त्रणका क्रममा १६० केजी मासु र १९० वटा कुखुरा बरामद गरिएको छ। यसबाट ३ लाख ९६ हजार ७०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। अवैध वन पैदावार नियन्त्रण अभियानअन्तर्गत १७.३ क्युफिट काठ बरामद गरी ३ जनालाई पक्राउ गरिएको छ।
अपराध न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि प्रहरीले जेठ महिनामा ११४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रमबाट ३ हजार ५४० जना लाभान्वित भएका छन्। विद्यालय केन्द्रित ८ वटा कार्यक्रममा ४६४ विद्यार्थी सहभागी भएका थिए।
प्रहरीले कोहलपुर नगरपालिकामा नागरिक सुनुवाइ कार्यक्रमसमेत सञ्चालन गरेको थियो। कार्यक्रममा सहभागी नागरिकहरूले बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि समुदाय र प्रहरीबीचको सहकार्य थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए।
प्रहरीका अनुसार जेठ महिनामा जिल्लाभर १ हजार २३ पटक पिकेट ड्युटी, ४ हजार २८७ पटक ग्रामीण गस्ती तथा ८०६ पटक सवारी चेकजाँच गरिएको थियो। बाँके प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाउन यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।







