२७ माघ २०८२ खजुरा बाँके ;- आसन्न २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधी सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले बाँके क्षेत्र नं. ३ अन्तर्गत रहेका तीनै वटा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूबीच आज मिति २०८२/१०/२७ गते बिहान ०८ः०० बजे इलाका प्रहरी कार्यालय धनौलिमा महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ।
उक्त छलफल कार्यक्रममा निर्वाचनको समयमा अपनाइने सुरक्षा रणनीति, मतदान केन्द्रहरूको सुरक्षा अवस्था, सम्भावित चुनौतीहरू तथा तिनको समाधानका उपायबारे विस्तृत रूपमा छलफल गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा सम्पन्न कार्यक्रममा आपसी समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।


सुरक्षा निकायका प्रतिनिधिहरूले निर्वाचन लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै मतदाताले कुनै पनि भय, त्रास वा दबाबबिनै आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताए। विगतका निर्वाचन अनुभवबाट सिक्दै यसपटक थप व्यवस्थित सुरक्षा योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
छलफलका क्रममा संवेदनशील तथा अतिसंवेदनशील मतदान केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था, गस्ती परिचालन, आकस्मिक अवस्थाको सामना गर्न संयुक्त कार्ययोजना तथा सूचना आदान–प्रदान प्रणालीलाई सुदृढ बनाउने निर्णय गरिएको छ। साथै, स्थानीय प्रशासन र निर्वाचन कार्यालयसँग नजिकको सहकार्य गर्दै निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्ने विषयमा समेत सहमति जुटाइएको थियो।
कार्यक्रममा सहभागी सुरक्षा प्रमुखहरूले प्रतिनिधी सभा निर्वाचनलाई सफल, विश्वसनीय र मर्यादित बनाउन तीनै सुरक्षा निकाय एकताबद्ध रूपमा क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।
यस किसिमको समन्वयात्मक छलफलले आगामी निर्वाचनलाई थप सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





