०७ फागुन २०८२ नेपालगञ्ज, बाँके ;- सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी बाँकेबाट खटिएको ९ जनाको टोलीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको सामानसहित दुई अटो र एक जनालाई नियन्त्रणमा लिएको छ।
गत फागुन ४ गते दिउँसो १४:०० बजे नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवा क्षेत्रमा चेकजाँचका क्रममा भे.१ ह ६४२९ र भे.१ ह ४५३८ नम्बरका दुई वटा अटोमा लत्ताकपडा, किराना सामान तथा सुर्तिजन्य पदार्थ अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।


उक्त कार्यमा संलग्न रहेको आरोपमा जिल्ला कालिकोट रास्कोट नगरपालिका–८ बस्ने २६ वर्षीय तपेन्द्र दर्जीलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका दुवै अटो, बरामद सामान तथा सम्बन्धित व्यक्तिलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय, जमुनाहा बाँकेमा बुझाइएको जनाइएको छ। भन्सार कार्यालयले बरामद अटो रिक्सा तथा सामानको भन्सार दाखिला मूल्य रु. ५ लाख ५५ हजार २९५ कायम गरेको छ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले नियमित निगरानी र चेकजाँचलाई तीव्रता दिएको जनाएको छ। यस प्रकारका कारबाहीले कानुनी शासन सुदृढ गर्न तथा राज्यको राजस्व संरक्षणमा महत्वपूर्ण योगदान पुगेको सरोकारवालाहरूले बताएका छन्।





