७ फागुन २०८२ नेपालगन्ज ;- बाँके जिल्लामा सीमा क्षेत्रमा भइरहेको अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै उल्लेखनीय सफलता हात लागेको छ।
बिहीबार विहान ०१:४५ बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय जमुनाह बाँकेबाट खटिएको टोलीले नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरस्थित सीमा क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठुलो परिमाणको सामान बरामद गरेको हो।


विशेष सूचनाको आधारमा खटिएको टोलीले भारतबाट चोरी–छिपी ल्याउँदै गरिएको अन्दाजी मुल्य रु. १०,००,००० (दश लाख) बराबरको मोटर पार्ट्स तथा विभिन्न प्रकारका लत्ताकपडा नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएका सामग्री भन्सार छली गरी भित्र्याउने प्रयास भइरहेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) चन्दको कडा निर्देशन र प्रभावकारी परिचालनका कारण सीमा क्षेत्रमा हुने तस्करी गतिविधिमा उल्लेख्य कमी आएको स्थानीय स्रोतको भनाइ छ। एसपी चन्दले जिम्मेवारी सम्हालेयता सीमा सुरक्षामा कडाइ गर्दै नियमित गस्ती, चेकजाँच तथा सूचनाको आधारमा अपरेशन सञ्चालनलाई तीव्रता दिएका छन्। जसका कारण तस्कर समूहको निद हराम भएको सुरक्षा स्रोत बताउँछ।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा २४ सै घण्टा निगरानी बढाएको छ भने सशस्त्र टोलीलाई संवेदनशील नाकाहरूमा विशेष परिचालन गरिएको छ। हालैका दिनहरूमा लगातार अवैध सामान बरामद भइरहेका छन्, जसले सीमा सुरक्षामा राज्यको उपस्थिति बलियो बनेको संकेत गर्दछ।
बरामद गरिएको सामान आवश्यक कानुनी प्रक्रिया पुरा गरी सम्बन्धित निकायमा बुझाइने जनाइएको छ। साथै, अवैध गतिविधिमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
स्थानीयवासीहरूले पनि सीमा क्षेत्रमा सुरक्षा निकायको सक्रियता बढेसँगै शान्ति सुरक्षा कायम भएको प्रतिक्रिया दिएका छन्। खुला सीमा नाकाको दुरुपयोग गरी हुने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षा निकायले अझै कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बलको यो सफलता उदाहरणीय मानिएको छ। आगामी दिनमा पनि यस्ता अपरेशनलाई निरन्तरता दिँदै अवैध तस्करी पूर्ण रूपमा नियन्त्रण गर्ने रणनीति रहेको एसपी चन्दले स्पष्ट पारेका छन्।





