काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुन गइरहेको “FBI Regional Summit on Scam Center Compounds and Transnational Organized Crime” मा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ।
अन्तरदेशीय संगठित अपराध, साइबर ठगी, मानव बेचबिखन तथा सीमापार हुने विभिन्न आपराधिक गतिविधिविरुद्ध क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त उच्चस्तरीय सम्मेलनमा नेपाल प्रहरीको तर्फबाट आईजीपी कार्कीले सहभागिता जनाउन लाग्नुभएको हो।
उहाँसँगै नेपाल प्रहरीका प्रहरी उपरीक्षक धर्मराज भण्डारी पनि सम्मेलनमा सहभागी हुन बैंकक प्रस्थान गर्नुभएको छ।
प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित बिदाइ कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआईजी), प्रहरी नायव महानिरीक्षकहरू (डीआईजी) तथा अन्य वरिष्ठ प्रहरी अधिकृतहरूले प्रहरी महानिरीक्षक कार्कीलाई सफल सहभागिताको शुभकामना व्यक्त गर्दै बिदाइ गर्नुभएको थियो।
बैंककमा आयोजना हुने उक्त सम्मेलनमा विभिन्न देशका सुरक्षा निकायका उच्च अधिकारी, अनुसन्धान विज्ञ तथा नीति–निर्माताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनमा विशेषगरी स्क्याम सेन्टरमार्फत हुने अन्तर्राष्ट्रिय आर्थिक अपराध, साइबर अपराध, मानव तस्करी तथा अन्तरदेशीय संगठित अपराध नियन्त्रणका रणनीति, सूचना आदानप्रदान र सुरक्षा सहकार्य सम्बन्धी विषयमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।
नेपाल प्रहरीका लागि यस्ता अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता अनुभव आदानप्रदान, अनुसन्धान क्षमता अभिवृद्धि तथा विश्वव्यापी सुरक्षा चुनौतीसँग जुध्न आवश्यक अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यस सम्मेलनमा नेपाल प्रहरीको सहभागिताले सीमापार अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।







