Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

कोहलपुर । बाँकेको कोहलपुरस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै १ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ। कम्पनीको यो आम्दानीमा यसको सहायक कम्पनी सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको वित्तीय विवरण पनि समावेश छ।
कम्पनीका अनुसार समीक्षा अवधिमा लर्ड बुद्ध एजुकेशनल एकेडेमीले १ अर्ब १५ करोड ६० लाख रुपैयाँ तथा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले ६९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेका छन्। पछिल्ला केही वर्षयता कम्पनीको आम्दानी निरन्तर बढ्दो क्रममा रहेको वित्तीय विवरणले देखाएको छ।
सन् १९९६ मा चिकित्सकहरूको समूहद्वारा स्थापना भएको लर्ड बुद्ध एजुकेशनल एकेडेमीले सन् १९९७ देखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएको छ। हाल संस्थाले कोहलपुरमा ५०० शय्याको शिक्षण अस्पताल सञ्चालन गरिरहेको छ भने नेपालगञ्जस्थित अस्पतालको सञ्चालन सहायक कम्पनी सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमार्फत भइरहेको छ।
आम्दानीको ग्राफ उकालोमा
कम्पनीको वित्तीय अवस्था पछिल्ला वर्षहरूमा सुदृढ बन्दै गएको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ अर्ब १ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो। त्यसभन्दा अघिका वर्षहरूमा पनि आम्दानी १ अर्ब ४० करोडदेखि १ अर्ब ८१ करोड रुपैयाँसम्म पुगेको थियो, जसले कम्पनीको व्यवसाय विस्तार र सेवा मागमा भएको वृद्धि संकेत गर्छ।
कम्पनीका अनुसार गत आर्थिक वर्षको नौ महिनामा कुल सञ्चालन आम्दानीमध्ये करिब ३५ प्रतिशत अस्पताल सेवाबाट, ३४ प्रतिशत मेडिकल कलेजबाट तथा बाँकी हिस्सा फार्मेसी, सेवा शुल्क र अन्य गतिविधिबाट प्राप्त भएको हो। यसले कम्पनीको आम्दानीको स्रोत विविध रहेको देखाउँछ।
सञ्चालन नाफामा सुधार
लर्ड बुद्ध अस्पतालको बेड अकुपेन्सी आर्थिक वर्ष २०७८/७९ यता ५०–५५ प्रतिशतको हाराहारीमा स्थिर रहेको कम्पनीले जनाएको छ। यद्यपि सञ्चालन विस्तार तथा स्थिर खर्च व्यवस्थापनका कारण आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन नाफा मार्जिन करिब १५ प्रतिशत पुगेको थियो, जुन अघिल्लो वर्ष ९ प्रतिशत मात्र थियो।
बैंक ऋण पनि उल्लेख्य
सेवा विस्तारका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब रुपैयाँ ऋण लिएको छ। यसमध्ये ९५ करोड रुपैयाँ दीर्घकालीन तथा ५ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ। यस्तै, सहायक कम्पनी सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले पनि ६८ करोड रुपैयाँ ऋण लिएको जनाएको छ।
सञ्जीवनी कलेजको सेवा विस्तार
३१७ शय्याको अस्पताल सञ्चालन गरिरहेको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले पूर्वाञ्चल विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत बीएससी नर्सिङ, बीएन, बीपीएचलगायत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।
सन् २०२४ जुलाईमा नेपालगञ्ज अस्पतालसम्बन्धी सम्पत्ति नेपालगञ्ज हस्पिटल एण्ड रिसर्च ट्रेनिङ सेन्टर प्रालिबाट सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा गाभिएपछि त्यस अस्पतालको सञ्चालन तथा आम्दानी पनि सहायक कम्पनीको वित्तीय विवरणमा समावेश हुँदै आएको छ।
अनुभवी नेतृत्व
दुवै कम्पनीको नेतृत्व अध्यक्ष डा. खुमा प्रसाद अर्यालले गरिरहेका छन्। स्वास्थ्य शिक्षा तथा अस्पताल व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेका उनी गण्डकी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेससँग पनि आबद्ध छन्। कम्पनीका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडिया चार दशकभन्दा बढी समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय छन्।
स्वास्थ्य क्षेत्रमा अवसरसँगै नियामकीय चुनौती
कम्पनीका अनुसार नेपालमा स्वास्थ्य सेवा क्षेत्र आम्दानी र रोजगारीका हिसाबले तीव्र रूपमा विस्तार भइरहेको क्षेत्रमध्ये एक हो। स्वास्थ्यप्रतिको जनचेतना वृद्धि, निजी स्वास्थ्य संस्थाप्रतिको आकर्षण, स्वास्थ्य बीमाको विस्तार तथा जीवनशैलीजन्य रोग बढ्दै जाँदा आगामी दिनमा स्वास्थ्य सेवाको माग अझ बढ्ने अपेक्षा गरिएको छ।
तर कम्पनीले स्वास्थ्य तथा शिक्षा क्षेत्र कडा सरकारी नियमनअन्तर्गत सञ्चालन भइरहेकाले नीतिगत परिवर्तन, कानुनी व्यवस्था र नियामकीय निर्णयले वित्तीय प्रदर्शन तथा विस्तार योजनामा प्रत्यक्ष प्रभाव पार्न सक्ने जोखिम पनि औँल्याएको छ।
त्यसैगरी, स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले उपचारमा हुने कुनै पनि लापरबाही वा स्वास्थ्यकर्मीको कमजोरीले संस्थाको प्रतिष्ठा र जनविश्वासमा गम्भीर असर पार्न सक्ने भन्दै सेवा गुणस्तर, बिरामीको सुरक्षा र उच्च सञ्चालन मापदण्ड कायम राख्नु नै दीर्घकालीन सफलताको आधार हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech