कोहलपुर, बाँके — कोहलपुरको युवा प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने अभिप्रायसहित पहिलोपटक “Next Model Kohalpur – Season 1” आयोजना हुँदैछ।


बी नेक्ट्स इभेन्ट्स नेपाल प्रा.लिको आयोजनामा हुन लागेको यो मोडलिङ प्रतिस्पर्धा श्रावण १० गते (शनिबार) बाट सुरु हुँदैछ। कार्यक्रमको अडिसन चरण कोहलपुर–११ स्थित होटल ट्री टप हेभनमा हुनेछ।
यसबारेको औपचारिक जानकारी श्रावण ९ गते आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत दिइएको हो। आयोजकहरूका अनुसार कोहलपुरमा यति ठूलो फेसन इभेन्ट पहिलोपटक हुन गइरहेको छ, जसले स्थानीय युवालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरिएको छ।
१६–३० वर्ष उमेर समूहका लागि खुला प्रतिस्पर्धा
प्रतिस्पर्धा १६ देखि ३० वर्षसम्मका युवायुवतीका लागि खुला छ। मोडलिङ, फेसन, कला र संस्कृतिमा रुचि भएका नवप्रतिभाहरूलाई लक्षित गर्दै आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूलाई र्याम्प वाक, पोजिङ, फोटोशूट, संवाद कला, फेसन गाइड जस्ता विषयमा व्यावसायिक प्रशिक्षण दिइनेछ।
प्रतिभाहरूलाई नयाँ अवसर र व्यावसायिक उचाइ
कार्यक्रममार्फत सहभागीहरूले फेसन शो, म्युजिक भिडियो, विज्ञापन तथा डिजिटल मिडियामा भविष्य निर्माण गर्न सक्ने अवसर पाउनेछन्। उत्कृष्ट प्रतिभालाई ट्रफी, प्रमाणपत्रका साथै अन्य प्रतिष्ठित फेसन इभेन्टहरूमा प्रत्यक्ष सहभागी गराइने आयोजकको भनाइ छ।
फेसन डिजाइनर र मेकअप आर्टिस्टको साथमा अडिसन
अडिसन कार्यक्रमलाई ख्यातिप्राप्त फेसन डिजाइनर प्रतिभा खड्का को उपस्थितिले थप गरिमा प्रदान गर्नेछ भने चर्चित मेकअप आर्टिस्ट प्रनिता केसी को मार्गदर्शन सहभागीहरूका लागि विशेष हुने बताइएको छ। कार्यक्रमको संयोजन तथा निर्देशन भरत चन्द ठकुरी द्वारा गरिनेछ।
फेसन मात्रै होइन, सांस्कृतिक र आर्थिक विकासको अभियान
आयोजक संस्था बी नेक्ट्स इभेन्ट्सका अनुसार यो केवल मोडलिङ प्रतिस्पर्धा नभई कोहलपुरको सांस्कृतिक, सामाजिक र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको अभियान हो।
“Next Model Kohalpur” मार्फत कोहलपुरलाई फेसन र सांस्कृतिक पर्यटनको नयाँ हबको रूपमा चिनाउने प्रयास गरिएको छ। कार्यक्रममा युवाको आत्मविश्वास अभिवृद्धि, डिजिटल माध्यममा अभिव्यक्ति तथा रोजगारीका सम्भावना सिर्जना गर्ने सम्भावना रहेको आयोजकले विश्वास व्यक्त गरेको छ।
“Next Model Kohalpur” — कोहलपुरको पहिचान बदल्ने अभियान
पत्रकार सम्मेलनमा वक्ताहरूले “Next Model Kohalpur – Season 1” लाई कोहलपुरको पहिचान बदल्ने ऐतिहासिक अवसरको रूपमा व्याख्या गरे।
कार्यक्रमले सिर्जनशीलता, फेसन चेतना र प्रतिभालाई उजागर गर्दै देशका विभिन्न फेसन हाउस, एजेन्सी र मिडिया प्लेटफर्मसम्म पुर्याउने योजना बोकेको छ।
दीर्घकालीन दृष्टिकोणले हेर्दा, यस कार्यक्रमले कोहलपुरका युवाहरूलाई फिल्म, फेसन, ब्लगिङ र डिजिटल मिडिया मा स्थापित गर्दै कोहलपुरलाई अन्तर्राष्ट्रिय फेसन गन्तव्य का रूपमा उभ्याउने आशा गरिएको छ।





