काठमाडौं |
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका एक इन्सपेक्टरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल इलाका प्रहरी कार्यालय मालारानी, कैलालीमा कार्यरत इन्सपेक्टर पुष्करराज पन्तसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। पन्त यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत रहँदा नक्कली लाइसेन्स प्रकरणमा मुछिएको अनुसन्धानबाट खुलेको छ।
आयोगका अनुसार यातायात कार्यालयका कर्मचारीसँग मिलेमतो गरी लिखित तथा ट्रायल परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई पास गराई लाइसेन्स उपलब्ध गराइएको थियो। यस क्रममा लाखौं रुपैयाँ घुस असुली गरिएको अख्तियारको दाबी छ।
मुद्दामा इन्सपेक्टर पन्तसहित वरिष्ठ सई नन्दकुमार पोखरेल, वरिष्ठ सई प्रबिण आचार्य तथा असई दमन बिक्रम सेन प्रतिवादी रहेका छन्। आयोगले इन्सपेक्टर पन्तविरुद्ध ४३ लाख १४ हजार रुपैयाँ, वरिष्ठ सई पोखरेलविरुद्ध ४७ लाख ६६ हजार रुपैयाँ, वरिष्ठ सई आचार्यविरुद्ध ४१ लाख ३७ हजार रुपैयाँ तथा असई सेनविरुद्ध ३३ लाख ५४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारले गत वर्ष यातायात कार्यालयका केही कर्मचारीलाई पक्राउ गरी यस प्रकरणमा विस्तृत अनुसन्धान गरेको थियो। पक्राउ परेका व्यक्तिहरूको मोबाइल फोनबाट घुस लेनदेनसम्बन्धी विस्तृत विवरण फेला परेको आयोगले जनाएको छ।
यसै प्रकरणमा आयोगले सहसचिवहरू लोकबहादुर सुनार, उमेश ढुङ्गानासहित ३३ जनाविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। मुद्दाको सुनुवाइ विशेष अदालतमा हुने छ।














