काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ नेपाल प्रहरीका १० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काजसरुवा गरेको छ।


काजसरुवाअनुसार डीएसपी मदनजीत महरा प्रहरी वृत्त बौद्धमा खटिएका छन्। बौद्धका डीएसपी सन्तोष रोकायालाई जिल्ला प्रहरी परिसर काठमाडौं तानिएको छ।
यस्तै, डीएसपी ज्ञानबहादुर खड्का भोजपुरको जिम्मेवारीमा खटिएका छन् भने डीएसपी सूर्यबहादुर बोगटीलाई पोखरास्थित बैदाममा सरुवा गरिएको छ। बौद्ध वृत्त र बैदाम प्रहरी कार्यालयलाई डीएसपीका लागि आकर्षक पोस्टिङका रूपमा हेरिने गरिन्छ।
त्यसैगरी, डीएसपी यशोधा घले ललितपुरको बाडेगाउँ, डीएसपी मधुसूदन विश्वकर्मा महोत्तरीको गौशाला, डीएसपी सुरेन्द्रविक्रम बर्तौला सर्लाहीको इलाका प्रहरी कार्यालय हरिवन तथा डीएसपी दीपक कडेल सिराहाको गोलबजारमा खटिएका छन्।
स्रोतका अनुसार बौद्ध वृत्तका तत्कालीन डीएसपी सन्तोष रोकायामाथि आर्थिक अनियमिततासम्बन्धी गुनासो परेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं तानिएको बताइएको छ। यद्यपि, प्रहरी प्रधान कार्यालयले यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।





